close

कोरोना नियन्त्रणको नयाँ अभ्यासमा गुल्मीका स्थानीय सरकार

कतै मोबाइल टोली परिचालन, कतै आइसोलेसन

कोरोना नियन्त्रणको नयाँ अभ्यासमा गुल्मीका स्थानीय सरकार

कतै मोबाइल टोली परिचालन, कतै आइसोलेसन

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिकाले कोरोना संक्रमितको हेरचाह गर्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको मोबाइल टोली निर्माण गरेको छ । अहिले संक्रमित स्थानबाट आएका व्यक्ति र संक्रमित होम आइसोलेसनमा छन् ।

 

होम आइसोलेसनमा बस्दा स्वाभाविक रूपमा मनोबल बढ्ने र खानपानमा समेत सुविधा हुने गरेको छ । त्यसैले संक्रमितलाई आवश्यक परे घरमै स्वास्थ्य सेवा र परामर्श दिन प्रत्येक वडामा १-१ जनाको अहेब फोकल पर्सन समूह निर्माण गरिएको छ । 

 

गाउँपालिका स्तरीय सिनियर अहेब, हेल्थ असिस्टेण्टसहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मोवाइल टोली बनाइएको छ । वडा र गाउँपालिका स्तरीय मोबाइल टोलीलाई धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. जनक पाठकले संयोजन गर्ने गाउँपालिका प्रमुख भूपाल पोख्रेलले जानकारी दिए । 

 

वडाको अहेब नेतृत्वको टोलीले संक्रमितलाई भेटेर स्वास्थ्य अवस्था, औषधी वितरण र आवश्यक व्यावस्थापनको विषयमा जानकारी लिने तथा अक्सिजन आवश्यक पर्ने स्थिति आए गाउँपालिका स्तरीय मोबाइल टोलीलाई खबर गरेर अस्थायी कोभिड-१९ अस्पताल बरबोटमा उपचार गर्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।

 

बरबोटमा ५ बेडको कोभिड अस्पताल सञ्चालन गरिएको छ । मेडिकल अधिकृत र अक्सिजन आवश्यक हुने कोभिड बिरामीलाई घरमै वा गाउँपालिकामै उपचारको सबै प्रबन्ध मिलाइएको पोख्रेलले बताए । 

 

गाउँपालिकाले कोरोना परीक्षणलाई पनि जोड दिएको छ । प्रत्येक दिन धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र र बिरामीको अवस्थाका आधारमा घरमै पुगेर पनि एन्टिजिन परीक्षण गरिएको सिनियर अहेब तथा कोरोना विशेष सूचना अधिकारी डिल्लीराज पराजुलीले जानकारी दिए ।

 

धुर्कोट गाउँपालिकामा ७ महिला र १३ पुरुष गरेर २० जना संक्रमित छन् । त्यस्तै, गाउँपालिकाले कुनै कोरोना संक्रमितको ज्यान गए पालिकाभित्रका परिवारले चाहेको स्थान वा घाटसम्म निःशुल्क शव वाहन उपलब्ध गराउने निर्णय गरेको छ । 


कोरोना नियन्त्रणमा मालिकाको चासो

 

गुल्मीको मालिका गाउँपालिकाले सबै वडाहरूमा एन्टिजिन परीक्षण गरिरहेको छ । अहिलेसम्म ३३ जनाको एन्टिजिन परीक्षण गरिएको छ । गाउँपालिकाले गरेको परीक्षणमा ६ र बाहिर परीक्षण गरेका गरेर १४ जनामा कोरोना संक्रमण देखिएको पालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले जानकारी दिए ।

 

भुसालका अनुसार सबै वडामा सर्वदलीय र सर्वपक्षीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिले जनचेतना र क्वारेन्टाइन निर्माणलगायत काम गरिरहेको छ । त्यस्तै, एउटा एम्बुलेन्स र जिप पालिकासँग भएकाले थप एउटा ट्रयाक्टरको व्यवस्था गरिने भुसालले बताए ।

 

सबैले आ-आफ्नै घाटमा शव दाहसंस्कार गर्ने र शव वाहनका लागि गाउँपालिकाको गाडी रहेको उनले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर ६ अर्जेमा ५ बेडको अस्थायी कोभिड-१९ अस्पताल सञ्चालन गरिएको छ । 

अस्पतालमा हेल्थ असिस्टेन्टको नेतृत्वमा अक्सिजनसहितको सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । प्रत्येक स्वास्थ्य संस्थामा हेल्प डेस्क व्यवस्था गरिएको छ ।
आवश्कताको आधारमा थप आइसोलेसन निर्माणका लागि पनि तयारी अवस्था रहेको उनको भनाइ छ । 


इस्मामा कोभिड अस्पतालसँगै २० बेडको आइसोलेसन

 

गत वर्ष कोरोना नियन्त्रणमा अब्बल मानिएको इस्मा गाउँपालिका अहिले पनि कस्सिएर लागेको छ । कोरोना नियन्त्रणका लागि गाउँपालिकादेखि वडास्तरसम्म कमिटी गठन गरिएका छन् । 

 

कोरोनाको परीक्षण, संक्रमितको व्यवस्थापन, स्वास्थ्योपचार र परामर्शलाई जोड दिएको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पूर्ण कार्यान्वयनमा सबै संयन्त्र परिचालन गरिएको उनको भनाइ छ । 

 

गाउँपालिकाले सुविधासहितको ५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । १ जना डाक्टर, हेल्थ असिस्टेन्ट, अक्सिजन र पर्याप्त औषधीसहित अस्पताल सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिए ।

 

इस्मा गाउँपालिकाले रामराज्य माविमा २० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन् । गाउँपालिकाले प्रमुख नाका छल्दीपनाह र प्रत्येक स्वास्थ्य चौकीमा पनि हेल्प डेस्कको व्यावस्था गरेको खत्रीले जानकारी दिइन् ।

 

कोभिड-१९ अस्पताल इस्माका प्रमुख डा. निश्चल शर्माले व्यक्ति स्वयं सचेत बन्नु नै पहिलो कोरोनाबाट बच्ने उपाय भएको बताए । उनले अहिले संक्रमित स्थानबाट आउनेहरू र संक्रमितलाई होम आइसोलेसनमै पठाइएकाले थारै सावधानी नभए व्यक्तिसँगै परिवार र समुदाय संक्रमित हुने अवस्थाको विशेष ख्याल गर्न सबैलाई आग्रह गरे । 

 

‘संक्रमित आफैं चनाखो बनाैँ र उसका बारे परिवार अनि समुदायले पनि ख्याल गरौँ,’ डा. शर्माले भने, ‘स्वास्थ्य समस्या परे हाम्रो टोली २४ घन्टै तत्पर छ ।’