close

महामारी नियन्त्रणमा आफैँ खटिँदै शिवराजका नगरप्रमुख (भिडियो खबर)

महामारी नियन्त्रणमा आफैँ खटिँदै शिवराजका नगरप्रमुख (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यासमा जुटेका छन् । नागरिकप्रति बफादार भई केही पालिकाका जनप्रतिनिधि सक्रियता साथ सहयोगमा जुटेका छन् । केही भने आफ्नो कर्मचारीतन्त्र प्रयोग गरेर संकटको सामना गरिरहेका छन् ।

 

कपिलवस्तुका १० पालिकामा अलग अलग अभ्यास भएका छन् । तर, शिवराज नगरपालिकाको अभ्यास हेर्ने हो भने संक्रमितको मनोवल उच्च बनाई निको बनाउन सहयोग गरेको छ । घर देखि अस्पताल सम्मको सेवा पु‍र्‍याउँदै शिवराजले महामारीमा अतुलनीय काम गरिरहेको छ ।

 

अहिले शिवराज नगरपालिकाको दिनचर्या फेरिएको छ । कोरोना महामारीले देश नै आक्रान्त बनाइरहँदा शिवराज भने संक्रमितको स्याहारमा खटिएका छन् । संक्रमित भएको थाहा भए पछि शिवराजका जनप्रतिनिधि र स्वास्थ्यकर्मी संक्रमितको घरै पुग्छन् । छिमेकमा संक्रमण देखिदा टोलमा भने त्रास फैलिएको छ । तर जनप्रतिनिधि र स्वास्थ्यकर्मी त्रास हटाउदै स्वास्थ्य मापदण्ड प्रयोग गदै संक्रमित सँग कुराकानी गर्छन् ।

 

स्वास्थ्य अवस्था बुझे पछि उनीहरुले परामर्श समेत  दिने गरेका छन् । होम आइसोलेसन राख्ने की थप उपचारका लागि अस्पताल पठाउने सल्लाह समेत दिन्छन् र संक्रमितलाई स्वास्थ्थ सामाग्रीको कोसेली समेत दिन्छन् । सधैँ यसैगरी जनप्रतिनिधि सबै संक्रमितको घर दैलोमा पुग्छन् र भलाकुसारी गर्दै मनोबल उच्च बनाउने काम गर्छन् ।

 

यहाँका स्थानीयमा कोरोना संक्रमितको घरमा जानै हुँदैन भन्ने भ्रम राखेका छन् । तर, कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का वडाध्यक्ष टेकलाल सापकोटा र स्वास्थ्य चौकी इन्चार्ज जीत बहादुर विसी घर मै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिन्छन् । वडा नं. ५ का वडाध्यक्ष जगत बहादुर जिसी र स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलको दैनिकी पनि यसरी वितेको छ । वडामा अहिले सम्म ५९ जना संक्रमित रहेको र ४८ जना होम आइसुलेसन, १ जना चितवन मेडिकल कलेजमा भर्ना भएका छन् ।

 

होम आइसोलेनमा पुगेर उनीहरु पनि संक्रमितकोे स्वास्थ्य अवस्था बुझने गरेका छन् । पालिका भित्र अहिले डवल भेरियन्टको कोरोना संक्रमण फैलिन सुरु भएको छ । संक्रमण फैलिनबाट रोक्न चेक जाँचको दायरा समेत बढाइएको छ । लक्षण देखिएका र अक्सिजन लेभल कम भएका संक्रमितको उपचारका लागि नगरपालिकाले आधारभूत अस्पतालमा व्यवस्था गरेको छ । त्यहाँ १५ शय्याको कोभिड शय्या बनाइएको छ । अस्पतालमा डाक्टर सहितको सुविधा प्रदान गरिएको छ । यसका अलवा एक्सरे, ल्याव सेवा समेत संक्रमितलाइ निशुल्क प्रदान गरिएको छ ।


कोरोना संक्रमण बढ्दै जान थाले पछि नगरपालिकाले निकै सावधानी अपनाएको छ । निषेधाज्ञा अगाडी बजार बन्द गरिएको छ । दैनिक रुपमा एन्टीजेन परीक्षण गर्ने ब्यवस्था गरिएको छ । पालिका भित्रका जनतालाई पायक पर्ने गरी ४ वटा सेन्टरबाट कोरोना परीक्षण गरिएको छ । परीक्षणको दायरा बढे पछि संक्रमित हुने दर समेत कम हुदै गएको छ । 


महामारीमा शिवराज नगरपालिकाले दिएको सेवाले संक्रमितको हौसला बढाउन मद्दत गरेको छ । पालिकाले उनीहरुको स्याहार सुसारको लागि थर्मोमिटर एक थान, मास्क ५० पिस, साबुन १ पिस, सेनेटाइजर दुई पिस, पानी सफा गर्ने पियुष १ थान, भाइरस मार्ने कोलोराईड १ थान लगायतका स्वास्थ्य सामाग्री दिने गरेको छ । घर घर पुगेर सेवा दिए पछि स्थानीय समेत सचेत हुन थालेका छन् ।