close

मेयरको घर नै नगरपालिका, भन्छन्- भाडा लिन्नँ

मेयरको घर नै नगरपालिका, भन्छन्- भाडा लिन्नँ

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साहले नगरपालिकाको कार्यालय राख्न भाडा नलिने सर्तमा आफ्नै घर उपलब्ध गराएका छन् । नगरपालिकाको घरभाडाबापत खर्च हुने वार्षिक ७ लाख २० हजार बचाउने उद्देश्यले आफ्नो घर उपलब्ध गराएको नगरप्रमुख साहले जानकारी दिए ।

 

यसअघि नगरपालिकाले सीतापुर बजारमा रहेको एक घरमा मासिक ६० हजार रुपैयाँ भाडा तिरेर प्रशासनिक काम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको आफ्नै भवन नबन्दासम्म सीतापुरमै रहेको आफ्नो घरमा निःशुल्क नगर कार्यपालिकाको काम सञ्चालन गरिनेछ ।

 

महोत्तरीकै कान्छा मेयरको रूपमा चिनिने साह बेला–बेलामा चर्चामा आइरहने जनप्रतिनिधि हुन् । यसअघि पनि पालिका प्रमुखलाई भाडामा दिएको गाडी नचढ्ने भन्दै चर्चामा आएका थिए ।


साहले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरपालिकालाई घर भाडा नलिने गरी निःशुल्क आफ्नो निजी निवास हस्तान्तरण गरेको सार्वजनिक गरेका हुन् ।


भवन हस्तान्तरण गरेको सार्वजनिक भएपछि नगरबासीले नगरप्रमुख साहप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले भोट फकाउन चुनावी अभियान सुरु गरेको भनेका छन् भने कसैले प्रशंसा गरेका छन ।