close

औषधी र स्वास्थ्यकर्मीसहित ज्येष्ठ बाआमाका घर पुगे तिलोत्तमाका नगरप्रमुख

औषधी र स्वास्थ्यकर्मीसहित ज्येष्ठ बाआमाका घर पुगे तिलोत्तमाका नगरप्रमुख

Trulli
ADVERTISEMENT

रूपन्देही–तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकका लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रमअन्र्तगत वडा नम्बर १० सेमरा बजारका घरघर गई स्वास्थ्य परीक्षण गरिएको छ ।

 

वडा नम्बर १० को वेबरीमा नगरप्रमुख वासुदेव घिमिरेले ज्येष्ठ नागरिकलाई फूलसहितको स्वागत गरी चेकचाँज कार्यक्रम सुरु गरे । कार्यक्रममा नगरप्रमुख घिमिरेले भने, ‘तिलोमाभित्रका ७१ वर्षमाथिका कुनै पनि नागरिकले औषधोपचार अभावले ज्यान गुमाउन नपरोस् भनेरै यो अभियान सुरु गरेका हौँ ।’

 

जनप्रतिनिधि भएकाले स्वास्थ्यकर्मीसँग नागरिकको अवस्था बुझ्दै हिँडेको उनले बताए । स्थानीय ७० वर्षीय ज्येष्ठ नागरिक श्रीराम चौधरीले भने, ‘हामीले सच्चा अभिभावक पाएका रहेछौँ । घरघरै के–कस्तो समस्या छ भनेर हिँड्ने यस्ता पो जनप्रतिनिधि हुनुपर्छ ।’

 

टोलीमा सेमरा बजार स्वास्थ्य चौकीका डा. मनबहादुर पौडेललगायतका स्वास्थ्यकर्मीले घरघर गई ७१ वर्षमाथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी दिए ।

 

सेमरा बजार स्वास्थ्य चौकीका इन्चार्ज कमल पाण्डेले घरघरमा स्वास्थ्य परीक्षणमा जाँदा प्रेसर सुगर, ग्यास्ट्रिक, बाथ तथा अन्य आवश्यक औषधी दिनुका साथै स्वास्थ्य परीक्षण गरिएको बताए । तिलोत्तमाका १७ वटा वडामै घरघरमै पुगेर स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।