close

घरदैलोमै आठबिसकोटको सेवा

घरदैलोमै आठबिसकोटको सेवा

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले केन्द्रमा मात्रै सीमित सेवालाई नागरिकको घरआँगनमै पुर्‍याएको  छ । नगरपालिकाले आफ्नो सेवालाई घुम्ती शिविरमार्फत नागरिकको घरआँगनमा पुर्‍याएको  हो । 

 

पालिकाको केन्द्रसम्म पुग्न नसक्ने अशक्त, अपांगता भएका, भौगोलिक अवस्था र विपन्न परिवारलाई राहत दिने उद्देश्यले नागरिकको घरआँगनमा नगरपालिकाले घुम्ती शिविरमार्फत सेवा दिएको छ ।


स्थानीय सरकार भएको अनुभूति दिलाउन घरआँगनमै सेवा प्रवाह गर्ने उद्देश्यसहित नागरिकलाई सहज होस् भनेरै घुम्ती शिविर सञ्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले बताए । 


पालिकाको केन्द्रबाट हुँदै आएका सेवालाई आठबिसकोटको गोतामकोट, स्यालाखदीसहित पहिलो चरणमा ६ वटा वडामा घरआँगनमै पुगेर घुम्ती शिविरमार्फत सेवा सञ्चालन गरिएको अधिकृत शाहले बताए । 


नगरप्रमुख गोर्खबहादुर केसीले भने, ‘ग्रामीण भेगमा सञ्चालन गरिएको शिविरले स्थानीयलाई राहत मिल्नेछ । भौगोलिक अवस्था र त्यहाँका कठिनाइसँग नगरपालिकाको साथ रहिआएको छ । शिविरमार्फत स्थानीयलाई लक्षित गरेर सरकारी सेवा–सुविधा नागरिकको घरदैलोमै ल्याइएको हो ।’

 

कर्मचारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पालिकाले गत १ देखि ७ पुससम्म घरआँगनमै पुगेर घुम्ती शिविर सञ्चालन गरेको पालिकाको योजना शाखाका खरिदार रत्नबहादुर परियारले जानकारी दिए ।

 

उनका अनुसार शिविरमार्फत नयाँ व्यवसाय दर्ता, नवीकरण, योजना सम्झौता, पञ्जीकरण, अपांगता परिचयपत्र वितरण, जनगुनासा सम्बोधन तथा भइपरी आएका नागरिकका समस्या समाधान गरिएको छ । शिविर सञ्चालनपछि सरकारी सेवाका लागि नगरपालिका धाउनुनर्पे बाध्यताबाट राहत मिलेपछि स्थानीय खुसी छन् ।

 

६५औँ नगर कार्यपालिका बैठकको निर्णयअनुसार सुरु गरिएको शिविरबाट ३६ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ । त्यस्तै, २१ वटा योजनाको सम्झौता, संघ–संस्था नवीकरण, नयाँ दर्तालगायत कार्य गरिएको नगरपालिकाले जनाएको छ ।