close

फलेवासमा विदुरलाई भत्ता 

फलेवासमा विदुरलाई भत्ता 

Trulli
ADVERTISEMENT

पर्वत–पर्वतको फलेवास नगरपालिकामा विदुरलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । फलेवास नगरपालिकाको निर्णयअनुसार मासिक १ हजारको दरले भत्ता वितरण सुरु गरिएको हो ।

 

यसै आर्थिक वर्षदेखि लागू हुने गरी फलेवासभित्र बसोबास गर्ने एकल पुरुष, एकल महिला, श्रीमान्–श्रीमती बेपत्ता भएका महिला–पुरुषले मासिक १ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउन थालेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताए । 


उनका अनुसार भत्ता वितरणका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरेको छ । नगरपालिकाले ५० देखि ६० वर्षसम्मका एकल महिलालाई पनि मासिक १ हजारका दरले रकम उपलब्ध गराएको छ ।

 

६० वर्षदेखि माथि उमेरका महिलालाई केन्द्र सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले उनीहरूलाई भने नसमेटिएको श्रेष्ठको भनाइ छ । 

 

तीन तहका कुनै पनि सरकारी कोषबाट तलब, भत्ता, सुविधा, पेन्सन वा अन्य भत्ता नपाउने नागरिकले मात्र यस्तो खालको सामाजिक सुरक्षा भत्ता पाउनेछन् । 

 

लाभग्राहीका लागि सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता सुरु भए त्यस्ता व्यक्तिको भत्ता स्वतः हट्ने नगरपालिकाको कार्यविधिमा उल्लेख छ । महिला वा पुरुष विवाह नगरी बसेको अवस्थामा ५० वर्ष कटेको हुनुपर्ने व्यवस्था छ ।


फलेवास नगरपालिकाबाट भत्ता पाउने विदुर (एकल) पुरुष तथा एकल महिलाको संख्या ८५ छ । यीमध्ये विदुरको संख्या मात्रै ७० छ । न्यून आर्थिक अवस्था भएका एकल पुरुष तथा महिलालाई स्थानीय सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत केही राहत पुगोस् भन्ने उद्देश्यले भत्ता उपलब्ध गराइएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।


पहिलो चरणमा हरेक वडामा घुम्ती सेवा कार्यक्रम सञ्चालन गरेर त्यस्ता महिला, पुरुषलाई भत्ता वितरण गरिएको हो । हालसम्म फलेवास वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, १० र ११ मा परिचयपत्र वितरण गरिएको छ । पहिलो चरणमा हरेक लाभग्राहीलाई नगद र अर्कोपल्ट बैंकिङ प्रणालीमार्फत भत्ता उपलब्ध गराइने नगरप्रमुख शर्माले बताए ।