close

नागरिकलाई घरआँगनमै सरकारी सेवा दिँदै सूर्योदय 

नागरिकलाई घरआँगनमै सरकारी सेवा दिँदै सूर्योदय 

Trulli
ADVERTISEMENT

इलाम– नागरिकले अझै पनि सरकारी कार्यालयबाट बिना झन्झन्ट सेवा÷सुविधा पाउने अवस्था छैन । २० वर्ष कर्मचारीको भरमा चलेका स्थानीय निकाय, तहमा परिणत भएसँगै निर्वाचित जनप्रतिनिधि आएपछि भने नागरिकले घरआँगनमै सहज ढंगले सरकारी सेवा पाउन थालेका छन् । नगरपालिकाको जनउत्तरदायी नीतिकै कारण  इलामको सूर्योदय नगरपालिकाका स्थानीयले सरकारी सेवा सुविधा सहज रूपले पाइरहेका छन् ।

 

सरकारी कार्यालयबाट प्रवाह हुने सेवा लिन हैरानी खेप्दै आएका इलामको सूर्योदय नगरबासी अहिले भने यो समस्याबाट मुक्त भएका छन् । नागरिकले नगरपालिकाबाट सहज सेवा पाइरहेका छन् । नगरप्रमुख र उपप्रमुख आफैं नागरिकको सेवामा खटिने गरेका छन् । ‘सेवाग्राहीको पेवा, मुस्कानसहितको सेवा’  नारालाई पूरा गर्न जनप्रतिनिधिको खटाइले सन्तुष्टि मिलेको स्थानीय श्यामप्रसाद वस्ती बताउँछन् ।


प्रशासनिक सेवा लिन आउने नागरिकलाई २४ सै घन्टा राय सल्लाह दिने गरिएको छ । पहिलो आउनेलाई पहिलो सेवा दिँदा अहिले सेवा प्रवाहबारे आउने गुनासा हट्दै गएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलको भनाइ छ ।

 

नगरपालिकाले आफ्नो सबै सेवालाई कागजविहीन बनाउँदा कतिपय नागरिकले घरमै बसेर पनि सेवा लिन थालेका छन् । प्रविधिमैत्री नगरपालिकाले बनाएको मोबाइल एप्लिकेसनबाट पनि नागरिकले आवश्यक सेवाबारे जानकारी लिन सक्छन् । जबसम्म नागरिकले शासन पद्धतिलाई सरल ढंगले बुझ्न सक्दैनन्, सरकारी कार्यालयबाट उपलब्ध हुने सेवा सुविधा सहज तरिकाले पाउने अवस्था बन्दैन तबसम्म सुशासन कायम हुन नसक्ने वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माको धारणा छ ।

 


नागरिकलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले सबै सेवालाई डिजिटलाइज गरेको छ । अशक्त र अपाङ्गता भएका व्यक्ति सेवा लिन नगरपालिका कार्यालय जानैपर्दैैन । सहज ढंगले सेवा दिन दुई जना सूचना अधिकृत तोकिएको छ । कार्यालयमा रहेको हेल्प डेस्कबाट नागरिकले विभिन्न जिज्ञासा मेट्न सक्ने अवस्था सिर्जना भएको वडा नम्बर १ का वडाध्यक्ष पेमा उगेन लामा बताउँछन् ।

 

सेवाग्राहीलाई प्रविधिमैत्री बनाउँदै छिटो–छरितो सेवा प्रदान गरेर नगरपालिका सुशासन कायम गर्न सफल भएको छ । नगरको पारदर्शी कामकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुनै पनि उजुरी दर्ता भएको छैन । यसले पनि सुशासनको सूचकांकमा सूर्योदयलाई अब्बल सावित गरेको छ । प्रविधिमैत्री नगर बन्ने लयमा नगरपालिका अघि बढ्दा संघीयताको मूल्य र मान्यतालाई आत्मसात गर्न पनि सफल भएको छ । नगरपालिकाले १५औँ राष्ट्रिय योजनाको सुशासन कायम गर्ने संघीय सरकारको लक्ष्य पछ्याउँदै गर्दा नागरिकले यसबाट प्रत्यक्ष लाभ लिन सकेका छन् ।