close

केपिलासगढीमा तोरीखेतीमा अनुदान

केपिलासगढीमा तोरीखेतीमा अनुदान

Trulli
ADVERTISEMENT

खाेटाङ। केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ। गाउँसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९/८० को कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यावसायिकरूपमा तोरीखेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राका आधारमा अनुदान उपलब्ध गराउने भएको हो । 

व्यावसायिक तोरीखेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ तोरीखेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको गाउँपालिका प्रमुख समिर राईले बताए। ‘किसानलाई व्यावसायिकरूपमा तोरीखेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रम अघि सारिएको हो’, उनले भने, ‘गाउँपालिकाको गौरवको योजनाका रूपमा ल्याइएको तोरीखेती प्रवद्र्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

गाउँपालिकाको अनुदान पाउन किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरीखेती लगाउनुपर्ने छ वा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । गाउँपालिका प्रमुख संयोजक रहेको अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिसका आधारमा कृषक, कृषि फार्म र कृषक समूहलाई बैंक खातामा अनुदान उपलब्ध गराइने तोरीखेती प्रोत्साहन अनुदान कार्यक्रम तयार गरिएको हो ।

कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरीखेती लगाउने किसानलाई प्रतिरोपनी रु एक हजार र कम्तीमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी रु दुई हजार पाँच सयका दरले अनुदान उपलब्ध गराउने तयारी पालिकाले गरेको छ। अनुदान पाउनका लागि कम्तीमा तीन रोपनी जग्गामा तोरीखेती गरेको र कम्तीमा दुई मुरी तोरी उत्पादन गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ। 

तीन रोपनीभन्दा थोरै जग्गामा दुई मुरी तोरी उत्पादन गर्ने किसानले पनि अनुदान पाउने गाउँपालिकाले जनाएको छ । जग्गाको क्षेत्रफलका आधारमा अनुदान लिने कि तोरी उत्पादन गरेर मुरीको आधारमा अनुदान लिने भन्ने छनोट किसानको हुनेछ । 

प्रतिरोपनी जग्गा बराबरको अनुदान लिने वा तोरीको मुरीको आधारमा अनुदान लिने निर्णय किसानको हुने जनाइएको छ । खपत भएपछि बाँकी रहेको तोरीको तेललाई निर्यात गर्ने लक्ष्य राखिएको गाउँपालिका प्रमुख राईले बताए। सात वडा रहेको केपिलासगढी गाउँपालिकाका सबैजसो ठाउँमा तोरीखेती हुने कृषि शाखाले जनाएको छ । कतिपय किसानले तेलकै लागि तोरीखेती लगाउने गरेका छन् ।