close

वडा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै रामप्रसादराई गाउँपालिका

वडा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै रामप्रसादराई गाउँपालिका

Trulli
ADVERTISEMENT

भोजपुर। रामप्रसादराई गाउँपालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष थाम बहादुर राईले सुरक्षाकर्मीसहित वडा नं ८ मा पुगेर त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता उपलब्ध गराएका हुन्। 

एनआइसी एसिया बैंक, बैकुण्ठेको प्राविधिक आर्थिक सहयोगमा पालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको हो।  

भत्ता भुक्तानी शिविरमा अध्यक्ष राईले ज्येष्ठ नागरिकलाई माला तथा खादा लगाउँदै तीन महिनाको सामाजिक सुरक्षा भत्ता नगदमा वितरण गरे। उनीहरुको तीन महिनाको भत्ता रकम भरेको चेक लिएर आफुले राखे। शिविरमा भत्ता लिन आएका ज्येष्ठ नागरिक तथा अपांग व्यक्तिको लागि बस्न बेन्चको व्यवस्था गरिएको थियो। बेन्चमा बसेर नै उनीहरु आफ्नो पालो पर्खिरहेका थिए । 

आफ्नो पालो आएपछि तीन महिनाको सामाजिक सुरक्षा भत्ता लिएर प्रफुल्लित हुँदै स्थानीयहरु घर फर्किएका छन्। लामो बाटो हिँडेर पालिकाको केन्द्र वैकुण्ठे पुगेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटाउँदै स्थानिय सरकारले वडामै सेवा दिँदा उनीहरु खुसी भएका हुन्। 

वडा नं ८ बाट पालिका केन्द्र पुग्न दुई तीन दिन हिँड्नु पर्ने भएकाले स्थानीयलाई पालिकाका सेवा लिन समस्या हुने गरेको अध्यक्ष राईले बताए।  उनले भने ‘खाना, यातायातको सुविधा बीना स्थानीयलाई दुई तीन दिन हिँडेर पालिकामा पुग्न सास्ती भएको अघिल्लो स्थानिय चुनावमा पराजित हुँदा देखिनै नियालिरहेको थिएँ। स्थानीयको समस्यालाई बुझेर गाउँपालिकाको अध्यक्ष हुने वित्तिकै पहिलो निर्णय वडा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको हुँ।’

उनले महिला स्वास्थ्य स्वयंसेविकाको सुविधालाई दोब्बर बनाउन निर्णय गरेको जानकारी दिए । अहिले निर्णयलाई कार्यान्वन गर्न तर्फ लागिरहेको उनको भनाई छ।