close

धवलागिरिमा ‘एक टोल, एक आरन’

धवलागिरिमा ‘एक टोल, एक आरन’

Trulli
फाइल फाेटो।
ADVERTISEMENT

म्याग्दी। धवलागिरिले टोलटोलमा आरन सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ मा धातुका सामान निर्माण गर्ने सीप भएका श्रमिकहरुको सीपलाई व्यावसायिकीकरण गर्न ‘एक टोल, एक आरन’ कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको बिहीबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘परम्परागत आरन व्यवसायलाई परिष्कृत गर्न अनुदान दिन्छौँ,’ बिहीबारदेखि मुनामा सुरु भएको बिसौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भने, ‘घरेलु र कृषि औजारमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनाका साथै रोजगारी सिर्जना हुने अपेक्षा गरेका छौँ।’ 

विदेशबाट फर्केका बेरोजगार युवाहरुको उद्यम विकास, आयआर्जन र व्यवसायमा जोड्न ‘गाउँमै बसौँ, यही उद्यम गरौँ’ भन्ने कार्यक्रम सञ्चालन गर्ने, अल्लो र कागज उद्योग सञ्चालन गर्न अनुदान दिने भएको छ । 

दर्ता नभई सञ्चालनमा रहेका औषधि पसललाई नियमन गर्ने, दीर्घरोगीसँग अध्यक्ष र सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिने, लुलाङ र दरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिने भएको छ । 

‘एक वडा, एक पकेट क्षेत्र’ कार्यक्रमलाई निरन्तरता दिने, गाउँपालिका स्तरीय कृषि महोत्सव सञ्चालन गर्ने, घुम्ती गोठलाई सोलार टुकीको व्यवस्था मिलाउने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न ‘टनेल हाम्रो उत्पादन तपाइँका’, जडीबुटी नर्सरी स्थापना र खेतीलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरी जडीबुटीको बिक्री वितरणलाई करको दायरामा ल्याउने नीति लिएको छ । 

विद्यार्थीहरुको पठनपाठनप्रति आकर्षण र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको निर्माण, प्रदर्शनीमार्फत पठनपाठन गराउने, स्थानीय पाठ्यपुस्तक लागू गर्ने, बालमैत्री गाउँपालिका बनाउने, शिवाङको आवासीय माविलाई निरन्तरता दिने, मावि तह सञ्चालन भएका विद्यालयमा परीक्षणका लागि स्मार्ट स्कुलको अभ्यास गरिने, ताकमको अन्नपूर्ण पुस्तकालयलाई पालिकाको अध्ययन केन्द्रका रुपमा विकास गर्ने भएको छ ।  

पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन, राष्ट्रिय र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई प्रोत्साहन, ‘एक वडा एक महिला उद्यम समूह  कार्यक्रम’लाई निरन्तरता, बालविवाह न्यूनीकरण र विभेद तथा हिंसारहित समाज निर्माणमा जोड दिने भएको छ । वातावरण प्रदूषण न्यूनीकरण गर्न ‘प्लास्टिक बाल्न पनि हुुन्न र फाल्न पनि हुन्न’ भन्ने अभियान चलाउने तथा सिसाजन्य फोहरको समस्या न्यूनीकरणको नीति लिएको छ । 

वडा स्तरमै पुगेर योजना सम्झौता लगायतका सेवा दिने र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने र राजस्व सङ्कलनमा सफ्टवयरको प्रयोग गर्ने भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले आगामी वर्षको बजेटमा उपलब्धि देखिने योजना र प्रभावकारी हुने कार्यक्रमका लागि प्राथमिकता दिएको बताए। 

‘विषयगत समितिमार्फत योजना निर्माण र बजेट विनियोजन गरेर परम्परागत शैली तोड्ने प्रयास गरेका छौँ’, उनले भने, ‘पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिएका छौँ ।’

सङ्घीय र प्रदेश सरकारको लागत साझेदारीमा वडा नं १ गुर्जालाई यातायात सञ्जालसँग जोड्ने, जलजला हुँदै ढोरपाटन, खाम्ला–खिवाङ, मल्कवाङ हुँदै रघुगङ्गाको चौरखानीलाई सडक सञ्जालले जोड्ने नीति लिएको छ । 

बेनी–दरवाङ–थापाचौर–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा–डोल्पा जोड्ने अन्तरप्रदेश स्तरीय काठमाडौँदेखि डोल्पा जोड्ने छोटो दूरीको द्रुत हिमालय राजमार्गको परिकल्पना गरिएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश जोड्ने यो सडक काठमाडौँदेखि तीन सय किलोमिटरको दूरीमा डोल्पा जोडिने छोटो दूरीको हुने, आर्थिक, सामाजिक, पर्यटकीय हिसाबले महत्वपूर्ण हुने गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताए।