close

विपन्न दलितलाई आधुनिक यन्त्र वितरण

विपन्न दलितलाई आधुनिक यन्त्र वितरण

Trulli
ADVERTISEMENT

स्याङ्जा। वालिङ नगरपालिकाका  गरिब तथा विपन्न नागरिकलाई व्यावसायिक बनाउने उद्देश्यले पूर्ण अनुदानमा आधुनिक यन्त्र वितरण गरिएको छ । नगरपालिकाको प्रशासनिक भवन परिसरमा नगरपालिका–१ देखि १४ सम्मका स्थानीय परम्परागत पेसा व्यवसाय गर्दै आएका ७२ परिवारलाई काम गर्न सहज होस् भनेर त्यस्ता उपकरण वितरण गरिएको हो । नगरपालिकाले सामग्री खरिदका लागि रु आठ लाख विनियोजन गरेपछि नगरस्तरीय दलित उत्थान सञ्जालले सामग्री खरिद गरेको थियो ।

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद शर्माले २८ थान सिलाइ मेसिन, २३ थान आरनका लागि पङ्खा, नौ सेट पञ्जेबाजा, छ थान जुत्ता सिलाउने सामग्री, पाँच परिवारलाई ४४ पाता आरन छाउने जस्तापाता वितरण गरिएको जानकारी दिए। 

उपकरण वितरण कार्यक्रममानगरपालिकाका उपप्रमुख कविता गैरेले सामग्रीहरूको  उचित प्रयोग गर्दै भरपुर लाभ लिन सुझाव दिइन्। उनले व्यावसायिक बन्न चाहने हरेक नागरिकलाई नगरपालिकाले सहयोग गर्ने भन्दै योजना बनाएर नगरपालिकामा आउन आह्वान पनि गरिन्। ‘नगरपालिकाभित्र सीप भएका तर यन्त्र उपकरणको अभावमा बेरोजगार बनेका विपन्न दलित नागरिकहरु समेत छन्, उहाँहरुको खोजी कार्य गरौँ’, उपप्रमुख गैरेले भनिन्, ‘पैसाको अभावमा कसैले आफ्नो सीप दबाएर राख्न नपरोस्, नगरपालिकाको सम्पर्कमा आए हामीले सहयोग गर्नेछौँ ।’

नगरस्तरीय दलित उत्थान सञ्जालका अध्यक्ष जसबहादुर बरालले नगरपालिकाले विपन्न दलितलाई दिएको आधुनिक उपकरणले व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। ‘परम्परागतरुपमा काम गर्दै आएका दलितहरुको समय र पैसा बचत गर्न यन्त्र उपकरणको महत्वपूर्ण भूमिका हुन्छ’, उनले भने, ‘आधुनिक उपकरणको अभावमा यहाँका दलितले निकै समस्या भोग्दै आएका थिए, अब भने सहज हुने भयो ।’

परम्परागतरुपमा आरन व्यवसाय गर्दै आएका वडा नं ११ का लक्ष्मण विकले फलामका सामान जमाउन अत्यधिक गोल र श्रमको खर्च हुने गरेको बताए। ‘पुरानो आरनको पङ्खाले कहिले हावा नदिने र बिग्रिरहने समस्या थियो, नगरपालिकाले नयाँ पङ्खा दिएपछि खुसी लागेको छ’, उनले भने, ‘वेल्डिङ मेसिन पाएपछि दिनभरि लाग्ने फलाम जमाउने काम १५÷२० मिनेट मै हुने भयो ।’

वडा नं ७ की फुलमाया दमैले हातेकलबाट कपडा सिलाउन धेरै समय लाग्ने गरेकामा आधुनिक खुट्टेकल पाएपछि अब भने ग्राहकको लुगा समयमा बुझाउन सकिने बताइन्।

वडा नं ९ मा व्यावसायिकरुपमा जुत्ता सिलाउने काम गर्दै आएका चन्द्रबहादुर एसकेले नगरपालिकाले अनुदानमा दिएको सामग्रीले आफ्नो व्यावसाय विस्तार गर्न सहज हुने अपेक्षा गरे।