close

कालिगड पेसाको संरक्षण गर्दै पौवादुङमा

कालिगड पेसाको संरक्षण गर्दै पौवादुङमा

Trulli
ADVERTISEMENT

भोजपुर। पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि पौवादुङमा गाउँपालिकाले कालिगड पेसाको संरक्षण थालेको छ । आवश्यक औजार उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेको कालिगड पेसा सङ्कटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो । 

दिनानुदिन पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि कालिगड पेसा गर्दै आएकालाई आवश्यक सामग्री सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। पालिका लोपोन्मुख पेसाको संरक्षणमा जुटेको उनको भनाइ थियो । ‘पछिल्लो समय शिक्षा तथा रोजगारीका सिलसिलामा कालिगड पलायन हुँदै गएका छन्’, अध्यक्ष राईले भने, ‘अहिले गाउँघरमा व्यावसायिकरूपमा यो पेसा गर्ने मान्छे पाउनै मुस्किल छ । औजार उपकरण बाहिरी बजारबाट किनेर ल्याउनुपर्ने अवस्था छ । यो पेसारव्यवसायमा लागेकाहरूको तथ्याङ्क सङ्कलन गरेर पालिकाले आवश्यक सहयोग गरिरहेको छ ।’

खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेसा सङ्कटमा पर्दै गएकाले यसको संरक्षणमा लागिएको उनको भनाइ थियो । ‘जिल्लाभर नै कालीगड पेसा छाड्ने सङ्ख्या बढ्दो छ’, अध्यक्ष राईले भने, ‘यो पेसाको संरक्षण गर्नुपर्ने आवश्यक ठानेर अहिले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’

पेसा छाड्नेको सङ्ख्या बढेसँगै गाउँघरमा औजाररउपकरणको अभाव हुन थालेपछि वडाका नागरिकलाई आवश्यक सहयोग गरेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। पेसामा लागेका दुई परिवारलाई प्रोत्साहन स्वरुप आवश्यक आधुनिक सामग्री उपलब्ध गरिएको उनले बताए। 

कालिगड पेसामा लाग्नेलाई आधुनिक उपकरणको प्रयोगमा जोड दिएको उनको भनाइ थियो । ‘पराम्परागतरूपमा काम गर्दा उहाँहरूलाई धेरै कठिन छ । विद्युतीय औजार उपकरणको प्रयोग गर्दा केही सहज हुने देखेर आवश्यक सामग्री सहयोग गरेका हौँ’, वडाध्यक्ष तामाङले भने। 

खुकुरी बनाउने आरन सञ्चालकलाई रू ८० हजार बराबर आवश्यक सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। ‘पराम्परागत पेसा संरक्षण गर्ने उद्देश्यले यो पेसामा लागेका दुई परिवारलाई पौवादुङमा–१ श्यामशिलाले आवश्यक सहयोग गरेको छ’, उनले भने।

सामग्री निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थसँगै सामुदायिक वनबाट सहजरूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको पौवादुङमा–१ श्यामशिलाका कालिगड कृष्णबहादुर विकले बताए। विभिन्न कारणले पेसा सङ्कटमा परेको भन्दै स्थानीय सरकारबाट पाएको सहयोगले पेसामा लाग्न थप टेवा मिलेको उनको भनाइ थियो ।
 
नयाँ पुस्ताको रोजाइमा नपर्दा पेसा सङ्कटमा परेको भन्दै राज्यको तर्फबाट आवश्यक सहयोग हुनुपर्नेमा विकले जोड दिए। ‘अत्यावश्यक औजाररउपकरण बनाउने भए पनि यो पेसालाई अझै पनि अपहेलनाका रूपमा लिने चलन छ’, उनले भने, ‘नयाँ पुस्ता यो काम गर्न नै चाहँदैनन् । व्यवसाय सञ्चालन गर्न कोइला, दाप, बिँडका लागि काठ पाउनै मुस्किल छ । विविध कारणले पेसा छाड्नेको सङ्ख्या बढेको छ ।’

स्थानीय सरकारलाई कालिगड पेसामा आकर्षण बढाउन युवा पुस्तालाई आकर्षित गर्ने तथा सिप सिकाउने तालिम तथा योजना बनाउनुपर्ने विकले बताए। उनले राज्यबाट आर्थिक सहयोग नभएमा कालिगड पेसा लोप हुने अवस्थामा पुग्ने बताए।

जनशक्तिको अभाव, आवश्यक सामग्रीको कमीलगायत कारणले मेहनत गरेअनुसारको प्रतिफल पाउन नसकेको कालिगड खड्गबहादुर विकले बताए। राज्यले गरिरहेको सहयोगका कारण  पेसालाई जीवन्त राख्न केही टेवा मिलेको उनको भनाइ थियो । 

‘अन्य सहज काम खोज्ने र कालिगड पेसाबाट राम्रो आम्दानी नहुने देखेपछि खुकुरी बनाउनेको सङ्ख्या घट्दै गएको छ’, उनले भन, ‘पेसा छाडेर अन्य पेसा÷व्यवसायमा लाग्नेको सङख्या बढ्दो छ । यस्तै अवस्था रहे मैले गरेको काम अब मेरा छोरारनातिले गर्छन् भन्ने आशा छैन । राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विकको भनाइ थियो ।