close

डेंगु विरुद्ध लड्दै काठमाडौं महानगर

डेंगु विरुद्ध लड्दै काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । महानगरका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो सामाजिक सञ्चालनमा एक स्ट्याटस लेख्नै रोग नियन्त्रणको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएका छन् । 

उनका अनुसार  महानगरपालिकाले नगरवासीलाई डेंगी रोग लाग्नवाट बचाउन कार्ययोजना बनाई, चरणबद्ध रुपमा  कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनले हालसम्म २६९ वटा वडास्तरीय सचेतना र्याली, डेंगी लार्भा खोज र नष्ट गर्ने अभियानहरु सञ्चालन गरिदै आएको बताए । प्रत्येक बुधवार बिहान ८:०० बजेबाट ९:३० सम्म सवै वडाहरुमा यो अभियान निरन्तर चलिरहेको उनले जनाएका छन् । सो कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, महिला स्वास्थ्यकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको छ । 

'विगतका वर्षहरुको अनुभवलाई हेर्दा बर्षायाममा विशेष गरी श्रावण, भाद्र, असोज र कात्र्तिकसम्म यस रोगको संक्रमण दर तीब्र रहेको पाइन्छ । नगरवासीलाई यो रोगवाट बचाउन हामीले विशेष प्रयत्न गरेका छौ,' उनले लेखेका छन्, 'डेंगी रोगको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै ११८० नं को हटलाइन २४ सै घण्टा चालु रहने छ भने १०२ बाट निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्नु हुनेछ ।' 

डेंगी रोग लागि हालेमा वडामा रहेका स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकहरुमा प्रयाप्त मात्रामा सिटामोल, जिवनजल लगायत आवश्यक औषधिको प्रबन्ध मिलाईएको जनाइएको छ । उनले लेख्छन् 'सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थी बिचमा डेंगी रोग सम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावक सम्म  रोगको बारेमा चेतना पुर्याउने र रोगको बारेमा उत्कृष्ट कला देखाउने, बिद्यार्थी र बिद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ ।' 

पानी जम्ने र लामखुट्टेको बासस्थानको खोजी लार्भा नै नष्ट गर्ने  किटनाशक  छर्कने, जनचेतनामूलक सन्देशहरु प्रसारण गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् । काठमाडौ महानगरपालिकाको एक्लो प्रयासले मात्र महामारी रोग नियन्त्रण र रोकथाम हुन नसक्ने भएकाले सरोकारवाला निकायसँग सहकार्यको लागि उनले अनुरोध गरेका छन् ।