close

कोञ्ज्योसोमका भूमिहीनले पाए निस्सा

कोञ्ज्योसोमका भूमिहीनले पाए निस्सा

Trulli
ADVERTISEMENT

ललितपुर– राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेको छ । वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा निस्सा वितरण गरिएको हो । 

 राष्ट्रिय भूमि आयोगका ललितपुर जिल्ला संयोजक श्रीगोविन्द महर्जनले भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या नरहेको बताए । ‘स्थानीय तहबाट पर्याप्त सहयोग र समन्वय भएको अवस्थामा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या छैन । हाम्रो वर्तमान संवैधानिक व्यवस्था र सरकारको नीतिअनुरुप योग्य रहेका सबै सुकुम्बासीलाई प्रक्रिया पुर्याएर निस्सा वितरण गर्न हामी तयार छौँ’, उनले भने ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्रका सबै सुकुम्वासी, भूमिहीनलाई जग्गा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरसँग समन्वय गरेर चाँडै टुङ्गोमा पुर्याउने बताए । ‘सुकुम्बासी समस्या समाधान गर्ने राज्यको नीतिअनुरुप हामी पनि सक्रिय छौँ । निस्सा वितरण भएका सबैलाई छिटोभन्दा छिटो जग्गाको व्यवस्थापन गरेर हामी लालपुर्जा वितरण गर्नेछौँ’, उनले भने ।

गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरेले निस्सा वितरणसँगै लामो समयदेखि सुकुम्बासी भएर रहेकाको समस्या समाधान हुने पक्का भएको बताए । उनले छिट्टै लालपुर्जा वितरण भएर पालिकाभित्र सुकुम्बासी र भूमिहीनमुक्त नागरिक भएको देख्न पाइने विश्वास व्यक्त गरे । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार अब गोदावरी नगरपालिकाका बाँकी १२ वडा र महाँकाल गाउँपालिकाका सुकुम्बासी र भूमिहीनलाई निस्सा वितरण गर्ने गरी तयारी भइरहेको छ । आयोग जिल्ला समितिले यसअघि २०८० जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ परिवार, असार ३१ गते गोदावरी–७ देवीचौरका १४ परिवार र साउन १२ गते गोदावरी–१२ का पाँच परिवारलाई निस्सा वितरण गरिसकेको छ ।