close

मौरीपालन व्यवसायमा सफल उद्यमी दाहाल

मौरीपालन व्यवसायमा सफल उद्यमी दाहाल

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको उर्लाबारी–९ की गोमा दाहालले मौरीपालन व्यवसाय सुरु गरेको १७ वर्ष भयो । प्रायः मानिसहरू व्यवसाय परिवर्तन गरिरहन्छन् । आम्दानीका नयाँ स्रोतको खोजी गर्छन् । तर, सुनसरीको तरहराबाट चार हजार पाँच सय रुपियाँमा किनेर ल्याएको एक घार मौरीलाई गोमाले विस्तार गरेर १५० घार बनाएकी छिन् ।

 

उनलाई यतिबेला स्थानीयले सफल मौरीपालक कृषक भनेर चिन्छन् । दाहाललाई सुरुका दिनमा मौरी पालेर पैसा कमाइन्छ भन्ने लाग्दैनथ्यो । श्रीमान् वैदेशिक रोजगारमा, ससाना छोराछोरीह हुर्काउने जिम्मेवारी छ, छँदै थियो । तर पनि दाहाल थाकिनन् । लगातारको श्रमले यतिबेला उनी  मौरीपालन व्यवसायी बनेकी छिन्  । १५० घार मौरीले उनलाई वार्षिक १५ लाख रुपियाँ आम्दानी दिन्छन् । मह बेचेर उनको घरखर्च मात्र टरेको छैन । छोरालाई डिग्रीसम्म अध्ययन गराइसकेकी छिन् । शहरमा घरघडेरी जोडेकी छिन् ।

 

तत्कालीन जिल्ला कृषि विकास कार्यालय मोरङको सहयोगमा तालिम लिएपछि उनी व्यवसायमा प्रवेश गरेकी हुन् । सुरुवाती दिन निक्कै कठिन रहे । उनले भनिन्– ‘कहिले मेरा नानीहरुलाई मौरीले टोक्यो, कहिले तोरी फलेन । कहिले खुब पैसा कमाउन लागेकीसम्म भनेको सुनेँ । कतिपयले हाँसेर उडाए ।’


गोमादेवी कसैका कुरा नसुनी आफ्नो श्रममा व्यस्त भइन् । त्यही परिश्रमको परिणामले अहिले गोमादेवी सफल उद्यमी बनेकी छिन् । मौरीपालन आयस्रोतको मुख्य माध्यम बन्न सक्ने उनको भनाइ छ । उनले भनिन् – ‘धेरै खट्नुपर्छ, खटेअनुसार आम्दानी पनि राम्रो हुन्छ । आफ्नो जग्गा जमिन नभएकाहरूले पनि मौरीपालन गर्न सक्नुहुन्छ ।’

 

मौरीपालनले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याएको दाहालको भनाइ छ । उनले आफ्नै घरमा ‘राजघाट मौरीपालन उद्योग’ सञ्चालन गरेकी छिन्  । उद्योगबाट उनले करिब दुई हजार घार मौरी बिक्री गरिसकिन् । सामान्य लगानीमा सुरु गरेको व्यवसायले राम्रो आम्दानी दिन थालेपछि गोमादेवीलाई सघाउन रोजगारीका लागि विदेशमा रहेका श्रीमान् गङ्गाराम पनि स्वदेश फर्किएका छन् । आवश्यक खर्च मह विक्रीबाटै जुटेपछि किन विदेशमा जोखिम मोल्नु गङ्गारामले भने ।


४१ औँ खाद्य दिवसको दिन उत्कृष्ट एपिस मेलिफेरा पालन गर्ने कृषक तर्फबाट गोमादेवीले राष्ट्रिय स्तरमा प्रथम पुरस्कार प्राप्त गरिन् । त्यसयता उनलाई अझ बढी  केही गरौँ भन्ने उर्जा प्राप्त भयो । राज्यले सहयोग गरे ‘महलाई आधुनिक रूपमा प्रशोधन गरेर विदेश पठाउन सकिने उनको भनाइ छ । विदेशबाट विभिन्न ब्राण्डको स्टिकर टाँसेर आउने महभन्दा स्वेदेशी उत्पादन राम्रो भएकाले बजार प्रवर्धनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने दाहाल बताउँछिन् । नेपाली उद्यमीहरूलाई राज्यले सहयोग गरे महको आयात शून्यमा झार्न सकिने उनी बताउँछिन् ।