close

विपन्न महिलालाई हाते होजियारी तालिम 

विपन्न महिलालाई हाते होजियारी तालिम 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका विपन्न र असहाय महिलालाई एक महिने हाते होजियारी तालिम दिन थालिएको छ । विपन्न महिलाको आयआर्जनमा सुधार ल्याउन सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा सीपमूलक हाते होजियारी तालिम दिन लागिएको हो ।

 

हातेहाजियारी प्रशिक्षक सरस्वती भारतीले १ महिनासम्म महिलालाई ऊन तथा पुनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइने बताइन् । उनले भनिन्, १ महिने तालिमले विपन्न महिलाले सीप सिकेर टोपी र मोजा बुनेर आर्थिक आयआर्जन गर्न सक्नेछन् ।’ 


सामाजिक विकास कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम शाहीले कार्यविधिअनुसार विपन्न तथा आर्थिक रूपमा पछि परेका महिलाको आयआर्जनमा सुधार ल्याउन सीपमूलक तालिम दिने गरिएको बताए ।

 

उनले भने, ‘यस्ता तालिमबाट सीप सिकेर धेरै महिला स्वरोजगार बनेका छन् । यो तालिममा सहभागी महिलाले पनि सीप सिकेर स्वरोजगार बन्ने र तिनको आयआर्जनमा सुधार हुने अपेक्षा गरिएको छ ।’ 


हिमाली महिला जागरण केन्द्र जुम्लाकी अध्यक्ष छिरिङल्यामु लामाले ३ माघदेखि एक महिने हाते होजियारी सीपमूलक तालिम सञ्चालन गरिएको बताइन् । उनले भनिन्, ‘विपन्न महिलाको आयआर्जनमा सुधार ल्याउन यस्ता तालिम सञ्चालन गर्नुपरेको हो ।’ 


विभिन्न सीपमूलक तालिमबाट सीप आर्जन गरी व्यवसायी भएपछि महिलामाथि घरेलु हिंसा न्यूनीकरण हुने उनको भनाइ छ । हाते होजियारी सीपमूलक तालिममा चन्दननाथ नगरपालिकाका १० महिला सहभागी छन् । १ महिनासम्म तालिममा सहभागी भएर सीप सिक्ने महिलालाई प्रमाणपत्र प्रदान गरिने हिमाली महिला जागरण केन्द्र जुम्लाले जनाएको छ ।