काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणका लागि सत्तारुढ नेकपा एमाले बाहेकका दलहरुसँग छलफल थालेको छ ।
कांग्रेसले सत्ता समीकरणका लागि औपचारिक पहलकदमी थालेसँगै एमालेपनि सत्ता जोगाउने चलखेलमा लागेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओबादी केन्द्र र जनता समाजवादी पार्टीका नेतालाई छलफलमा बोलाएलगत्तै एमालेको ओली खेमाका नेताहरु सत्ता जोगाउनका लागि आवश्यक पर्ने १३ जना सांसदको खोजीमा जुटेका छन् ।
जसपासँग सत्ता समीकरणका लागि उनीहरुले उठाउदै आएको मागबारे वार्तामा रहेको सरकारले वार्तालाई पुन: सक्रिय बनाउने बताएको छ ।
सांसद रेशम चौधरीलगायतका नेता रिहाइलगायतका मागमा लचक बनेको सरकारले देउवाको कदम लगत्तै मधेशकेन्द्रीत दलसाग सहमतिको अन्तिम कसरत अघि वढाएको बालुवाटार श्रोतको दावी छ ।
आज विहान मात्रै वार्ता समितिको अनौपचारिक बैठक बसेर भोलिसम्ममा निकास निकाल्ने विषयमा छलफल गरेको छ ।
माओवादीले आफ्ना चार सांसदलाई कारवाही गरेलगत्तै अव प्रतिनिधिसभामा २७६ सदस्य भएका छन् ।
सरकार बनाउन १३४ सांसद आवश्यक पर्छ । सत्तारुढ दल एमालेका १२१ सांसद छन् । उसलाई सरकार जोगाउन अव १३ सांसदको आवश्यकता छ ।
कांग्रेस र माओवादी सत्ता ढाल्ने खेलमा लागे जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो खेमाका नेताहरुसँग मिलेर सरकार बनाउने कसरतमा प्रधानमन्त्री ओली स्वयं सक्रिय बनेको नेताहरको भनाइ छ ।
जसपा नेताहरु बावुराम भट्टराई र उपेन्द्र यादव वर्तमान सरकारसँग चरम असन्तुष्ट गरेकाले ओलीले सरकार जोगाउन चाहिने १३ सांसद जाहो गर्न जसपालाई औपचारिक रुपमा विभाजन गराउनु पर्ने हुन्छ । वालुवाटरमा नेताहरु अहिले यो दल फुटाउन सकिन्छ कि भनेर लागेका छन्, जसपाका एक नेताले पालिकाखबरसँग भने ।
तर जसपाका शीर्ष तहका नेता भने पार्टीभित्र ओलीको विकल्प खोज्न एकमत रहेको दावी गरिरहेका छन् ।