close

कांग्रेस बाजुराको पालिका अधिवेशन : बहुमत वडामा युवा नेतृत्वको दबदबा 

कांग्रेस बाजुराको पालिका अधिवेशन : बहुमत वडामा युवा नेतृत्वको दबदबा 

Trulli
ADVERTISEMENT

बाजुरा– नेपाली कांग्रेस बाजुराको पालिका अधिवेशन शनिबारदेखि सुरु भएको छ । कांग्रेसको केन्द्रीय सर्कुलरअनुसार वडा अधिवेशन सम्पन्न भएको ठाउँमा शनिबारबाट पालिका अधिवेशन भएको हो । ९ वटा स्थानीय तह रहेको बाजुराका ६९ वडामा वडा अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशन सुरु भएको कांग्रेस बाजुराले जनाएको छ । 


४ वटा नगरपालिका र ५ गाउँपालिका रहेको बाजुरामा सबै वडामा सर्वसम्मत वडा अधिवेशन सम्पन्न भएको नेताहरूले बताए । कांग्रेस बाजुरामा पालिकास्तरीय अधिवेशनले चहलपहल बढ्नुका साथै आकांक्षी पनि बढेका छन् ।


नेतृत्व तहमा युवाको आकर्षण पनि बढिरहेको छ । बाजुराका अधिकांश वडामा युवाले नेतृत्व लिन सफल भएका छन् । क्रियाशील सदस्यता विवाद हँुदा ढिलो गरी सुरु भएको वडा अधिवेशन शुक्रबार सम्पन्न भएपछि शनिबारदेखि पालिका अधिवशन सुरु भएको छ ।


बाजुरामा स्वामीकार्तिकबाहेक अरू पालिकामा अधिवेशन सुरु भएको छ । दुर्गम बाजुराको हिमाली गाउँपालिकामा एक जना सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएको वडा ४ का वडाध्यक्ष रमेश विकले जानकारी दिए । यीमध्ये दुई जना हालका वडाध्यक्षले पालिका सभापति बन्ने चाहना देखाएको उनले बताए ।
उम्मेदवारी दिनेमा भीमानन्द पाण्डेय, जोखबहादुर भण्डारी, अम्मलाल कार्की, सुरेन्द्रबहादुर मल्ल र पूर्णलाल पाण्डेय रहेका छन् । उम्मेदवारी दिएकामध्ये कार्की र मल्ल वर्तमान वडाध्यक्ष हुन् भने भण्डारी २०७४ को प्रत्यासी वडाध्यक्ष हुन् ।


स्थानीय निर्वाचनमा वडाध्यक्षबाट पराजित हिमालीका युवा नेता भण्डारी हाल पालिका सभापति बन्ने दाउमा छन् । अधिवेशन सञ्चालन नभए पनि स्वामीकार्तिकमा उम्मेदवारको टुंगो लागेको नेता पूर्णबहादुर कैलाले जानकारी दिए ।


बाजुरामा शनिबारबाट पालिका अधिवेशन सञ्चालन गर्ने भनिए पनि स्वामीकार्तिकमा आइतबारदेखि सुरु हुनेछ । हालसम्म पालिका सभापतिका लागि आफू र महेश कट्टेल गरी दुई जनाले उम्मेदवारी घोषणा गरेको कैलाले बताए ।


लामो समयदेखि कांग्रेसमा आबद्ध कैला पालिका सभापति बन्ने दाउमा छन् भने प्रहरी संगठनबाट राजीनामा दिएर सक्रिय राजनीतिमा आएका कट्टेल पनि सभापति ताकेका छन् । सभापतिका लागि दुवैबीच रस्साकस्सी हुने देखिएको छ ।


यस्तै, जगन्नाथमा पनि सुन्दर विष्ट, कपुरराज गिरी, तिलक विष्ट र खड्कमल धराला गरी ७ जना आकांक्षी रहेको नेता जयबहादुर रोकायाले बताए । बूढीनन्दा नगरपालिकामा मानबहादुर खड्का, अशोक दानीलगायत नेताहरूले उम्मेदवारी दिएका छन् । अन्य ठाउँमा फोन नलागेका कारण विवरण आउन बाँकी छ ।