close

भक्तपुर क्षेत्र १ मा पुनः मतदानको माग

भक्तपुर क्षेत्र १ मा पुनः मतदानको माग

Trulli
ADVERTISEMENT

भक्तपुर– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको क्षेत्र १ मा गरिएको मतगणनामा धाँधली भएको दाबीसहित पराजित पक्षले पुनः मतदानको माग गरेको छ ।  संस्थापन इतरले मंगलबार भएको मतगणना एकपक्षीय भएको दाबीसहित पुनः मतदानको माग गरेको हो ।


संस्थापन इतरले विज्ञप्ति जारी गर्दै क्षेत्रीय समितिको निर्वाचनमा संस्थापन समूहले एकपक्षीय मतगणना गरेको आरोप लगाएको छ । तरुण दलका केन्द्रीय पूर्वअध्यक्ष विनोद कायस्थले पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले मतपत्र साटेको आरोप लगाएका छन् ।


जिल्ला सभापति थापा र मन्त्री भँडेल केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कायस्थ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् । भक्तपुर क्षेत्र १ बाट क्षेत्रीय सभापतिका उम्मेदवार रहेका उद्धव खड्काले मतगणना वहिष्कार गर्दै पुनः मतदानको माग गरेका छन् ।


प्रेस विज्ञप्तिमा मत गणनास्थलमा होहल्ला, नाराबाजी र झडप हुने स्थिति सिर्जना भएपछि भोलिपल्ट बिहान बुधबार निर्वाचन अधिकृत मुकुन्द शर्मा पौडेललाई मौखिक रूपमा पुनः मतगणना गर्न माग गरे पनि सुनुवाइ नभएको उल्लेख छ ।

 

पार्टी निर्वाचन निर्देशिका २०७८ को दफा २ (६)बमोजिम मतगणना गर्दा व्यवस्थित सम्बन्धित उम्मेदवार वा निजको वारेशको रोहवरमा गर्नुपर्ने प्रावधान हुँदाहुँदै मतदान अधिकृतले आफूहरूको कुनै वारेश वा उम्मेदवार नराखी एकपक्षीय ढंगबाट मतगणना गरिएको असन्तुष्ट पक्षको दाबी छ ।


 

मतगणनाको परिणाम बदर गरी पुनः मतदान गर्नुपर्ने माग उनीहरूको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् ।  क्षेत्र १ को सभापतिमा जीवन खत्री र २५ जना महाधिवेशन प्रतिनिधि चुनिएका छ ।