close

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं– कुनै बेला प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आउँदो १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

हालका पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले पनि सभापतिमा उठ्न घोषणा गरिसकेका छन् । निधिको पार्टी सभापतिमा उम्मेदवारी घोषणासँगै देउवातिर जाने मत केही घट्नेछ । ‘लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीसँगै मैले जेलनेलको लामो शृंखला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,’ निधिले भने ।


कांग्रेसमा वर्तमान सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् । तर, अहिलेसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गुरुङले मात्र गरेका थिए । बिहीबार निधिले घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेका छन् । 


सभापतिमा उम्मेदवारी प्रस्तुत गर्दै उनले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रबिन्दुमा राखेको घोषणापत्र बनाएका छन् । सभापतिको उम्मेदवारका लागि तयार पारेको घोषणापत्रमा परिकल्पना, उद्देश्य, ध्येय, र अन्य सुधार शीर्ष राखिएको छ । 


आफू सभापति भए वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने कांग्रेस बनाउने निधिको मुख्य नारा छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस बनाउने उनको संकल्प रहेको छ । 


कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीन वटै तहको आगामी निर्वाचनमा  बहुमतका साथ विजयी गराउने उने संकल्प लिएका छन् । कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने उद्घोष उनको छ ।