close

कांग्रेस रूपन्देहीको सभापतिमा खाँण सर्वसम्मत 

कांग्रेस रूपन्देहीको सभापतिमा खाँण सर्वसम्मत 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रूपन्देहीको नेतृत्व सर्वसम्मत भएको छ । वडादेखि क्षेत्रसम्म दुई समूहमा प्रतिस्पर्धा भएको कांग्रेस रूपन्देहीमा जिल्ला नेतृत्व सर्वसम्मत भएको हो ।


वर्तमान जिल्ला सचिव रामकृष्ण खाँण सभापतिमा सर्वसहमत भएका छन् । त्यस्तै, उपसभापतिमा डा. अनिता शाह र थानेश्वर घिमिरे, सचिवमा हरि काफ्ले र परमान्द भट्टराई, सहसचिव विष्णु थापा र वासु रिमाल सर्वसम्मत चयन भएका छन् ।


गृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति  भरतकुमार शाह, प्रतिनिधिसभा सदस्य प्रमोद यादव, जिल्ला सभापति अब्दुल रज्जाक, पूर्वसभापति रामचन्द्र ढकाललगायत बसेर जिल्लामा सहमतिको आधारमा नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका थिए ।


क्षेत्रीय अधिवेशनको परिणाम हेर्दा रूपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये २ वटा क्षेत्रमा संस्थापन इतर समूहका सभापति निर्वाचित भएका छन् भने बाँकी तीन वटा क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी भए ।


क्षेत्र २ मा हरि लम्साल र ४ मा मुकेश यादव संस्थापन इतर समूहबाट निर्वाचित भएका हुन् भने क्षेत्र १ मा हिराबहादुर खत्री, ३ मा सुशील गुरुङ र ५ मा वसिउल्लाह मुसलमान संस्थापन समूहबाट निर्वाचित भए ।


संस्थापन समूहमा पनि जिल्लामा नेताहरू बालकृष्ण खाँण र भरतकुमार शाहको अलग–अलग समूह देखिएको हो । क्षेत्र १ र ३ मा बालकृष्ण खाँण तथा क्षेत्र ५ मा भरतकुमार शाह निकटका क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।


क्षेत्र २ मा ९ जना महाधिवेशन प्रतिनिधि संस्थापन समूहका छन् भने क्षेत्र ४ मा भागबन्डामा सहमति गरिएको हो । गृहमन्त्री खाँण, नेता शाह र पौडेल पक्षका बीचमा भएको सहमतिले पदाधिकारी बाँडफाँट भएको जनाइएको छ ।

 

जिल्ला सभापति र एक सचिव तथा एक सहसचिव खाँण समूहलाई, एक उपसभापति र एक सचिव शाह समूहलाई र एक उपसभापति, एक सचिव र एक सहसचिव पद पौडेल समूहलाई बाँड्ने गरी सहमति भएको हो ।