काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले शनिबार १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार–प्रसार समितिलाई पूर्णता दिएका हुन् । समितिको सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, किरण गिरी, किरण यादव, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ ।
यस्तै सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, जनसम्पर्क समितिका अध्यक्ष, प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू समितिका सदस्यका रूपमा राखिएको छ । यसैगरी प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापति र जिल्ला सम्पर्क समितिका सभापति सदस्य रहेका छन् । कांग्रेसको कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रवक्ता शर्मालाई महाधिवेशन प्रचार–प्रसार समितिको जिम्मेवारी तोकेको थियो ।