close

कांग्रेस अधिवेशन : आन्तरिक बैमनश्यता बढ्दै, कमजोर हुँदै आन्तरिक लोकतन्त्र

कांग्रेस अधिवेशन : आन्तरिक बैमनश्यता बढ्दै, कमजोर हुँदै आन्तरिक लोकतन्त्र

Trulli
ADVERTISEMENT

चितवन– नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् ।  जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका  अभिव्यक्तिले सामाजिक सञ्जाल ‘भाइरल’ नै भइरेहका छन् ।  

 

निर्वाचन पराजित भएको जनाउँदै कतिपयले चोकचौराहामा गालीगलौजमा समय खर्चनेको पनि कमी छैनन् ।  मानौ कि उनीहरु विपक्षी दलहरुसँग जित र पराजित भइरहेका छन् । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा विपक्षीसँग लड्दा जुन ऊर्जा कांग्रेसले बोकेको थियो त्यो भन्दा थप ऊर्जा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई हराउन र जिताउनमा कांग्रेसी कार्यकर्ताले समय खर्चेकामा पुराना पुस्ताका कांग्रेसका नेता चिन्तित छन् । 

 

पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गाउँ तहदेखि नै चुनाव हुने गरेको छ ।  कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ आफूले सात/आठवटा निर्वाचनमा प्रतिष्पर्धा  र सम्पन्नगरेको भए पनि अहिलेको जस्तो नभएको बताउँछन् । उनले भने, ‘कांग्रेसको अहिलेको विधान परिवर्तन गर्नुपर्छ ।’ पैसा नहुने निर्वाचनमा भाग लिन नसक्ने अवस्था बनेको  उनको बुझाइ छ । आफूले अहिलेसम्म आन्तरिक निर्वाचनमा पोष्टरसमेत नटाँसेको जनाउँदै उनी  भन्छन्, ‘आन्तरिक निर्वाचन हारेपछि चोकचोकमा बसेर गालीगलौज गर्नु राम्रो होइन ।’ 

 

पार्टी नेता, कार्यकर्तामा अनुशासनका कमी भएकामा उनलाई चिन्ता छ । पूर्वराज्यमन्त्रीसमेत भएका कांग्रेस चिवतनका पूर्वसभापति शेषनाथ अधिकारी पार्टीभित्रको आन्तरिक निर्वाचनमा तल्लोस्तरको गातिविधि भएको बताउँछन् । पार्टीभित्रको निर्वाचन प्राविधिक पक्ष भएको जनाउँदै उनले यसमा हार–जित नहुने बताउँछन् । उनले भने, ‘यो छनोट हो । हार जित होइन ।’ साङ्गठनिक प्रक्रियाका लागि नेतृत्व चयन गर्नुपर्ने भए पनि यसलाई बुझाउन नसक्दा समस्या आएको उनको बुझाइ छ । उनी भन्छन्, ‘सङ्गठनको नेतृत्व चयन मात्र हो भनेर बुझाउन जरुरी छ । प्रशिक्षण कमजोर भयो ।’ कांग्रेसको मर्म बुझाउन नसकिएको हो कि भन्ने उामा चिन्ता छ । 

 

तत्कालिन संबिधानसभा सदस्य  एवं नेपाली काँग्रेस चितवनका पूर्व सभापति रामकृष्ण घिमिरे तडकभडक र बैमनश्यता हुन नहुने बताउँछन् । आफ्ना साथीलाई जित्दा र हार्दा धेरै खुशि र निरास हुनुपर्ने अबस्था आउन नहुने उाको बुझाइ छ । ठूलो पार्टी भएकाले धेरैका आशा पदमा हुनु स्वभाबिक रहेको जनाउँदै उनले आन्तरिक नेतृत्व चयनलाई पेचिलो हुनेगरि व्यवहार प्रदर्शन गर्न नहुने सुझाव दिन्छन् । विपक्षिहरुसंग लड्नका लागि आन्तरिक निर्वाचनले थप बलियो वनाउने गरि गतिबिधि गर्नुपर्ने उनको राय छ । 

 

अर्का जिल्ला पूर्वसभापति टीकाराम न्यौपाने पार्टीका नेता, कार्यकर्ता अनुशासित  बन्न र  पार्टीको आन्तरिक निर्वाचनमा आर्थिक चलखेल हुन दिनुहुँदैन भन्छन् । उनले भने, ‘यसरी नै अघि बढ्यो भने पार्टी कमजोर बन्छ ।’ पार्टीमा योगदान दिएकालाई जिम्मेवारीमा ल्याएर सङ्गठन बलियो बनाउनुपर्ने उनको भनाइ छ । आन्तरिक निर्वाचन भड्किलो बन्न नहुने पूर्व सभापति न्यौपाने बताउँछन् । 

 

झण्डै पाँच वर्ष छ महिनापछि कांग्रेसको गाउँदेखि जिल्लासम्म निर्वाचन भइरहेको छ । गतको स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पराजय व्यहोरेको कांग्रेसलाई अबको निर्वाचनमा पहिलो शक्ति बनाउनुपर्ने पुराना नेताहरु बताउँछन् । स्थानीय निर्वाचनको सङ्घारमा भइरहेको अहिलेको आन्तरिक निर्वाचनले असर पैदा गर्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ । जिल्लाका पूर्वसभापति पछिल्लो समयको भड्किलो आन्तरिक निर्वाचनलाई व्यवस्थित गरी पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिन्छन् । नेता, कार्यकर्तालाई बुझाउन नसक्दा आफ्नो क्षमताभन्दा फरक पदमा उम्मेदवारी दिने, भड्किलो प्रचार गर्ने, पराजित भएपछि गालीगलोजमा उत्रने गर्दा यसको प्रत्यक्ष असर विपक्षीसँग लड्ने निर्वाचनमा देखिन सक्नेमा उनीहरुको चिन्ता छ ।