काठमाडौं–नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका कालिकोटका नारायणप्रसाद भट्टराई तथा बागलुङका मणिभद्र शर्मा कँडेल र प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनी नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यसमेत हुन् । ‘कांग्रेसलाई नयाँ बाटोमा लैजान मेरो उम्मेदवारी हो’, भट्टराईले भने । नरहरिनाथ गाउँपालिका घर भएका उनी कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि थिए ।
मन्त्री कँडेल र नेता पौडेलद्वारा उम्मेदवारी घोषणा
बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् ।
कार्यकर्ताको भावना र चाहनाअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको कँडेल र पौडेलको भनाइ छ । कँडेल गण्डकीमा समानुपातिक प्रदेशसभा सदस्य हुन भने पौडेल संविधानसभा सदस्य भइसकेका हुन । दुवै जना कांग्रेस बागलुङको पूर्वसभापतिसमेत हुन । उनीहरु बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।