close

झकिझकाउ पारियो कांग्रेस महाधिवेशन स्थल भृकुटीमण्डप

झकिझकाउ पारियो कांग्रेस महाधिवेशन स्थल भृकुटीमण्डप

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप यतिबेला दुलहीझैँ शृंगारिएको छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिएको छ । 

 

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजना स्थल भएकाले यसको रौनक फेरिएको हो । सर्वसाधारणको विभिन्न भेला, छलफल र चियागफ तथा भेटघाट गन्तव्यस्थल बनेको खुला मैदान अहिले रंगीचंगी तुल, ब्यानरले भरिएको छ । महाधिवेशन उद्घाटनका लागि सो स्थानमा बनाइएको आकर्षक मञ्चले झनै भृकुटीमण्डपलाई दुलहीझैँ शृंगारेको झलक देखिन्छ । अहिले जोकोहीको ध्यान खिच्ने स्थल बनेको छ, कांग्रेस महाधिवेशन उद्घाटन स्थल, बन्दसत्र तथा मतदान स्थल ।

 

पार्टी सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकांक्षी उम्मेदवारका तुल, ब्यानरले उक्त क्षेत्र झकिझकाउ भएको छ । यसले महाधिवेशनको रौनक थपेको छ । त्यहाँ पुग्ने जोकोहीले मोबाइलमा तस्बिर कैद गरिरहेका देखिन्छन् । धेरैले मञ्चको सेल्फी लिइरहेको देखिन्छ । महाधिवेशन प्रतिनिधि मात्रै होइन, सर्वसाधारणको ध्यान पनि मञ्चले खिचेको छ ।


भृकुटीमण्डपको गेटबाटै सुरु हुन्छ, खचाखच ब्यानर । रुख, खाली स्थान, भित्ता कहीँ खाली ठाउँ छैन । सबै उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् । प्रदर्शनी मार्गको सडकका दुवैतिरका भित्तामा प्रचार सामग्रीले सजिएका छन् । राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लब पनि चारतारे झन्डा र प्रचार सामग्रीले रंगिएको छ । गेटबाट भित्र छिर्नासाथ चारैतिर ब्यानरले झकिझाउ छ । चारतारे झन्डाले मञ्च शृंगारिएको छ ।

 

उद्घाटन स्थल मात्रै होइन, बन्दसत्र हुने प्रदर्शनी कक्षभित्र पनि आकर्षक रूपमा सजाइएको छ । भित्रपट्टि पनि छुट्टै मञ्च बनाइएको छ । ४ दिनसम्म करिब ५ हजार कांग्रेस महाधिवेशन प्रतिनिधिले यो स्थानमा छलफल र बहस गरेर नयाँ नेतृत्व चुन्नेछन् । सोही स्थानभित्र विभिन्न पदाधिकारी र सदस्यका अकांक्षीले सम्पर्क कार्यालय खोलेर प्रतिनिधिलाई आकर्षण गरिरहेका छन् ।

 

महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रिय सभागृहमा मतदान गर्न २०० बुथ राख्न लागेकोे कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिए ।

 

महाधिवेशनमा सहभागी हुने ४ हजार ५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्नेछ । एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घन्टाभन्दा बढी लाग्ने पुडासैनीले बताए । २४ मंसिरमा कांग्रेस महाधिवेशनको उद्घाटन हुने र ७ मंसिरमा मतदान हुने कार्यतालिका छ ।

 

३०० अट्ने मञ्च


कांग्रेसले ३०० सय बढीलाई मञ्चमा राखेर महाधिवेशन उद्घाटन गर्ने तयारीस्वरूप धमाधम संरचना बनाइरहेको छ । शक्ति प्रदर्शन नगर्ने भए पनि कांग्रेसले मञ्चमा भने तीन स्टेपमा बस्ने व्यवस्था गरेको छ ।

 

मञ्च व्यवस्थापनको जिम्मेवारी पाएको कांग्रेस काठमाडौंका सचिव पुडासैनीले ३०० जना बस्ने र ४० जना नाच्ने मञ्च बनिरहेको बताए । मञ्च निर्माणका काम बिहीबार बेलुकीसम्म सकिने जानकारी उनले दिए । विदेशी पाहुना, नेता र कलाकार गरी मञ्चमा तीन स्टेपमा बस्न मिल्ने बनाइएको छ । कांग्रेसले महाधिवेशन उद्घाटन स्थललाई भव्य र आकर्षक मञ्च बनाएको छ । सचिव पुडासैनीका अनुसार ८० फिट लम्बाइ र ४० फिट चौडाइको भव्य मञ्च बनाइएको हो । मञ्च बनाउन मात्रै १०० भन्दा बढी कामदार ३ दिनदेखि खटिएका छन् । यस्तै, स्वागत गेट तथा प्रचार–प्रसारका लागि थप ५० बढी जनशक्ति खटिएका छन् ।

 

रोशन आर्ट सर्भिसले मञ्च बनाइरहेको छ भने सगरमाथा टेन्ट हाउसले टेन्टको व्यवस्था गरेको छ । २ दिनदेखि दुवै कम्पनीका प्राविधिक तथा मजदुरले धमाधम काम गरिरहेका छन् ।

 

मञ्चमा ठूला लाइट तथा माइकको व्यवस्था गरिएको छ । रातीको समय पनि कार्यक्रम गर्न सकिने गरी बत्तीे व्यवस्था गरिएको छ । इन्टरनेटको सहजताका लागि महाधिवेशन स्थलमा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । मिडिया सेन्टर, सहायता कक्ष तथा विभिन्न होल्डिङ सेन्टरसमेत बनाइएको छ । महाधिवेशन प्रतिनिधि बस्न राजधानीका ठमेल, सुन्धारा र गौशालामा गरी ३ ठाउँमा होटल बुकिङ गरिएको छ । त्यहाँ हालसम्म ३ हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समिति संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । ४ हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङ गरिएको छ ।

 

समितिले महाधिवेशनमा सहभागी हुने ८ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्न लागेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड र वसुन्धराको दियालो फुडल्यान्डमा भोजन व्यवस्था गरिएको छ । २४ मंसिर बेलुकादेखि २७ मंसिर बेलुकासम्म खानाको व्यवस्था गरिएको हो ।