जनकपुर– नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक तयारीमा ढिलाइ भएकाले बिहान १० बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।
सभापति पदका उम्मेदवार कृष्णा यादव र रामसरोज यादवले पहिलो आआफ्नो मत खसालेर मतदानको सुरुआत गरे । जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी मतदान आज दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिका संयोजक गौतमले बताए ।
बुधवार नै मतदान हुने कार्यतालिका रहेपनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो ।
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेश २ का आठ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी दुई हजार मतदाता रहेको बताइएको छ ।