close

कोरोना संक्रमण बढेपनि राष्ट्रिय सभा निर्वाचन नसर्ने 

कोरोना संक्रमण बढेपनि राष्ट्रिय सभा निर्वाचन नसर्ने 

Trulli
ADVERTISEMENT

काठमाडौं– निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने प्रस्ट्याएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो ।

 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभाको मतदानका लागि मतदाता सङ्ख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरि कोभिड–१९ को प्रकोप बढ्दै गएको छ ।

 


प्रवक्ता पौडेलले आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुुझाव लिने बताए । ‘मतदाताको भीड व्यवस्थित बनाउन आयोगले निर्णय गरे मतदान केन्द्र थप्न सकिनेछ’, प्रवक्ता पौडेलले भने । आयोगले हाल आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन् । सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन् । प्रदेश १ मा भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै ठाउँमा दुुईवटा मतदानस्थल रहनेछन् ।

 

राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ । सातवटै प्रदेशमा कुल दुई हजार २५ जना मतदाता छन् । ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन् ।

 

प्रवक्ता पौडेलका अनुसार राष्ट्रिय सभा सदस्यको मतदान, स्थानीय तहको निर्वाचनलगायतबारे छलफल गर्न शुक्रबार सर्वदलीय बैठकसमेत बोलाइएको छ ।