close

७ वटै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण चलाउँदै एमाले

७ वटै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण चलाउँदै एमाले

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर ७ वटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  मंगलबार प्रदेश कमिटीका नाममा पत्र जारी गर्दै महासचिव शंकर पोखरेलले आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।


पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारीसमेतका कारण सरकारले आगामी ३० वैशाख ०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी सरकारले निर्णय गरेको बताउँदै पोखरेलले तयारीमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । दुई दिने कार्यक्रम उद्घाटन अध्यक्ष केपी ओलीले २८ माघमा भर्चुअलबाट गर्नेछन् ।

 

उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी सहभागी हुनेछन् । प्रशिक्षणमा दसौँ राष्ट्रिय महाधिवेशन÷विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे छलफल हुने एमालेले बताएको छ ।

 


यस्तै, सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, संगठनात्मक र शैलीगत विषय, स्थानीय तहमा पाँच वर्षः उपलब्धि र अनुभवबारे पनि छलफल गरिनेछ । स्थानीय तह निर्वाचनको तयारीका राजनीतिक, कानुनी र व्यावहारिक पक्षलगायतका विषय समेटिएका छन् । प्रशिक्षणमा प्रदेश कमिटीका इन्चार्ज तथा सह–इन्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज÷सह–इन्चार्ज, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारी, जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख, एमालेबाट निर्वाचित जिसस प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुखले सहभागिता जनाउनेछन् ।

 

 

एमालेबाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकामा उपप्रमुख, पालिका पार्टी कमिटीका अध्यक्ष, एमालेका अनुसार प्रदेश १ को विराटनगरमा १ र २ फागुन, मधेस प्रदेशको जनकपुरमा ३ र ४ फागुन, बागमती प्रदेशको काठमाडौंमा ६ र ७ फागुनमा प्रशिक्षण सञ्चालन गरिनेछ । गण्डकी प्रदेशको पोखरामा ८ र ९ फागुनमा, लुम्बिनी प्रदेशको बुटवल, दाङमा ११ र १२ फागुनमा, कर्णाली प्रदेशको सुर्खेतमा १४ र १५ फागुनमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा १६ र १७ फागुनमा प्रशिक्षण चलाइने एमालेले बताएको छ ।