close

संसद् बैठकमा एमसिसीमाथि छलफल हुने

संसद् बैठकमा एमसिसीमाथि छलफल हुने

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ ।

 

प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि निर्धारण गरिएको कार्यसूची नै आजका लागि पनि राखिएको हो । बिहीबारको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

 

आजको बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम राखिएको छ ।

 

सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राखेका छन् । संसद् सचिवालयका अनुसार एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेश भएपछि बोल्न चाहने सांसदले छलफलमा भाग लिनेछन् । सरकारले यही फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल गरेको थियो ।