close

कांग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल

कांग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल

Trulli
ADVERTISEMENT

सिन्धुली–नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

 

पोख्रेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले बताए । जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएकामा आइतबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान गरिएको थियो ।

 

पुनः मतदान गरिँदा १ हजार ३७१ मत खसेकामा ९ मत बदर भएको थियो । यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए ।

 

जिल्ला अधिवेशनमा सहभागी हुने १ हजार ५३५ जना मतदाता रहेकामा १ हजार ४४० मत खसेको थियो भने ५१ मत बदर भएको थियो । निर्वाचित पोख्रेल नेपाल विद्यार्थी संघको जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्ष, संस्थापक निर्वाचित नगर सभापति, पहिलो पार्टीको प्रवक्ता, निर्विरोध पार्टी सचिव, ०५४ मा वडा नम्बर ५ को वडाध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै निरन्तर २८ वर्षदेखि पार्टीको नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।

 

यस्तै, उपसभापति दुई, सचिव दुई, सहसचिव दुई, जनजाति आदिवासी सदस्य चार, दलित महिला सदस्य एक, दलित सदस्य एक, सदस्य अल्पसंख्यक वा अपांगता सदस्य एक, हरेक स्थानीय तहबाट महिला र खुल्ला सदस्य पदका लागि भएको मतदानको मत गणना मंगलबार रातीबाटै सुरु हुने निर्वाचन अधिकृत खड्काले बताए ।