close

कांग्रेस पर्सा सभापतिमा क्षेत्री 

कांग्रेस पर्सा सभापतिमा क्षेत्री 

Trulli
ADVERTISEMENT

पर्सा– नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दनसिंह क्षेत्री निर्वाचित भएका छन् । संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षेत्री विजयी भएका हुन् । ७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्यसमितिका लागि क्षेत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको छ ।

 


क्षेत्री प्रतिद्वन्द्वी पटेलभन्दा ४ सय ६५ मत बढी ल्याएर निर्वाचित भएका छन् । निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाउँदा पटेलले ६ सय ४५ मत मात्रै पाए । सिंहले क्षेत्र १ बाट ११९, क्षेत्र २ बाट २२३, क्षेत्र ३ बाट ३७७ र क्षेत्र ४ बाट ३९१ मत प्राप्त गरेका थिए ।

 

तत्कालीन जिविसका पूर्वसभापति क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीको साथ थियो । पटेललाई कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यको समर्थन थियो । 

 

कांग्रेस पर्सा निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका छन् । कुर्मीले १ हजार २ सय ३५ र गुप्ताले १ हजार १ सय २ मत प्राप्त गरे । सचिवमा इम्तियाज आलम १ हजार १ सय ८७ र दिनेशकुमार चौधरी १ हजार १ सय ५९ मत ल्याएर विजयी भए । सह–सचिवमा नवीन सिंह १ हजार २ सय ५३ र मदन राउत अहिर १ हजार १ सय ११ मत ल्याएर निर्वाचित भए । सदस्यतर्फको भने मत गणना गर्न बाँकी छ । सहायक निर्वाचन अधिकृत कमल अधिकारीले सदस्यको मत शुक्रबार दिउँसो मात्रै गणना हुने बताए ।