close

भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेद्वार दिएका पौडेल भन्छन् : निर्णय फिर्ता हुँदैन

भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेद्वार दिएका पौडेल भन्छन् : निर्णय फिर्ता हुँदैन

Trulli
ADVERTISEMENT

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेद्वारी दिएका नेता जगन्नाथ पौडेलले उम्मेद्वारी फिर्ता हुन नसक्ने बताएका छन् ।

 

बिहीबार गृहमन्त्री बालकृष्ण खाँणसँग भएको भेटघाटपछि सञ्चारकर्मीसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरूको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।

 

बिहीबारै सभापति देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै आफ्नो पार्टीको तर्फबाट बागी उम्मेद्वारी दिएका नेता तथा कार्यकर्तालाई भविष्यको आँकलन गरी उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका थिए ।

 

भरतपुर महानगरपालिकामा यसअघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसले माओवादीकी उम्मेदवार रेणु दाहाललाई सघाएको थियो ।

 

जसका कारण २०७९ साल वैशाख ३० गते निर्वाचनको मिति तय हुनुभन्दा अघिदेखि नै नेपाली कांग्रेस चितवनले यसपालि भरतपुर महानगरपालिका माओवादीलाई नछाड्ने भनी अडान राख्दै आएको थियो ।

 

तर, गठबन्धनमा महानगरपालिकामा भागबन्डा लगाउने क्रममा भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । 

महानगरमध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिका नेपाली कांग्रेसको भागमा परेको छ । त्यसैगरी, पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजादी)को भागमा परेको छ भने वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेको छ ।