close

सिर्जनाका सात संकल्प

फोहोर व्यवस्थापनलाइ पहिलो प्राथमिकतामा राख्ने दाबी

सिर्जनाका सात संकल्प

फोहोर व्यवस्थापनलाइ पहिलो प्राथमिकतामा राख्ने दाबी

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयरमा दाबेदारी दिएकी सिर्जना सिंहले सात संकल्प सार्वजनिक गरेकी  छन्।

 

कांग्रेस नेता प्रकाशमान सि‌हकी पत्नी सिंहले आज काठमाडौँमा आयोजित कार्यक्रममा सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी हुन्। उनले संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन्।

 

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापनलाइ पहिलो प्राथमिकतामा राख्ने दाबी समेत उनको ५ ।त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छन्।

 

‘घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गरेर सयमा सय म्यानेजमेन्ट गरियो भने फोहोर जिरो हुनेछ।,’ सिंहले भनिन्।

 

काठमाडौँ महानगरभित्र देखिएको बाटोघाटोको समस्या पनि समाधान गर्ने उनको प्रतिबद्धता छ। ‘काठमाडौँलाई हिड्न योग्य सहर बनाउनेछु । प्रदूषणरहित सहर, ट्राफिक जाममुक्त सहर बनाउनेछु । जताततै खाल्टाखुल्टी रहेको सडक व्यवस्थापन गर्नतिर लाग्नेछु,’ सिंहले प्रतिबद्धता जनाइन् ।

 

आफू महिला प्रतिनिधि भएकाले महिलाको पीडा देखेको र भोग्दै आएको भन्दै ती समस्या समाधानका लागि प्राथमिकता दिने बताइन्। ‘एउटा महिला प्रतिनिधि भएकाले महिलाहरूको लागि विशेष योजना अघि सार्नेछु। काठमाडौँमा विभिन्न किसिमका महिलाहरू छन्। आर्थिक विपन्नता भएका महिलाहरू पनि छन्,’ उनले भनिन्, ‘विपन्न वर्गका महिलाहरूलाई लक्षित गरेर श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउनेछु । घरमा बस्ने महिलाको श्रमको कुनै सम्मान छैन । उनीहरूका लागि विशेष प्याकेज ल्याउनेछु।’

 

काठमाडौँमा रहेका विदुर पुरुषहरू पनि समस्या रहेको भन्दै उनीहरूको लागि समेत विशेष राहतको प्याकेज ल्याउने बताइन्। सबैभन्दा पहिला काठमाडौंलाई मध्यरातमा पनि झिलिमिली सहरको रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ।

 

‘महिला दिदीबहिनीलाई राति एक्लै हिड्न सुरक्षा छैन। काठमाडौंमा सबैभन्दा पहिला झिलिमिली बनाउनेछु। राति पनि काम गर्ने महिलाहरूलाई सुरक्षित छ भन्ने बनाउँछु,’ उनले भनिन्।

 

आफू एक दिन रातभर एक्लै काठमाडौँमा हिँडेर मध्यरातमा पनि महिलाको लागि सुरक्षित छ भन्ने सन्देश दिने उनले बताइन्। बालबच्चासहितका श्रमिक महिलाहरूको लागि समेत विशेष व्यवस्था गर्ने उनको योजना छ । ‘काठमाडौँमा सामुदायिक स्कूलसँग समन्वय गरेर शिशु स्याहार केन्द्र स्थापना गर्नेछु। जसले गर्दा आमालाई आफ्नो बच्चा सुरक्षित छ भन्ने हेक्का हुनेछ,’ उनले भनिन्।

 

महानगरमा बेरोजगार युवाहरूको सिप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ। खेलकुद क्षेत्रमा पनि विशेष कार्ययोजना बनाउने उनको भनाइ छ। त्यस्तै ज्येष्ठ नागरिकहरूलाई रिफ्रेस हुनको लागि रिफ्रेसमेन्ट सेन्टर बनाउने उनको योजना छ। उनीहरूको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने उनको भनाइ छ।

 

त्यस्तै, विपन्न परिवारहरूलाई वडा वडाहरूमा निःशुल्क स्वास्थ्यको व्यवस्था गराउने उनको भनाइ छ । सुविधासम्पन्न अस्पताल निर्माण गर्नतिर पनि ध्यान दिने बताइन्।

 

प्रत्येक सार्वजनिक स्थलमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उनको योजना छ। काठमाडौँमा शौचालयको समस्या विद्यमान रहेको भन्दै त्यसका लागि सार्वजनिक स्थलमा निःशुल्क शौचालयको व्यवस्था गर्ने बताइन्।