close

स्थापितसहित एमालेका उम्मेदवारलाई पार्टीको अनुमति बेगर बोल्न रोक

स्थापितसहित एमालेका उम्मेदवारलाई पार्टीको अनुमति बेगर बोल्न रोक

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा एमालेले यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई पार्टीको अनुमति बिना बोल्न रोक लगाएको छ ।

 

अब एमालेका उम्मेदवारहरू, त्यसमा पनि विशेष गरेर महानगरका उम्मेदवारहरूले पार्टीको निर्वाचन परिचालन कमिटीको अनुमति लिएर मात्रै बोल्न पाउने छन् ।

 

एमालेबाट काठमाडौँको मेयरका उम्मेदवार केशव स्थापित लगातार एकपछि अर्को विवादमा आउन थालेपछि पार्टीलाई नै घाटा हुने अवस्था देखिएकाले एमालेले यस्तो नीति बनाएको हो ।

 

एमालेका नेताहरूका अनुसार अब स्थापितसहित स्थानीय तहका कुनै पनि उम्मेदवारले निर्वाचन परिचालन कमिटीको अनुमति बेगर सञ्चारमाध्यमसहित अन्य फोरममा बोल्न पाउने छैनन् । चुनावी प्रचारमा बोल्न भने रोक लगाइएको छैन ।

 

केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा स्थापितमाथि यौन दुर्व्यवहारबारेका प्रश्न उब्जिँदा उनको जवाफले सिंगो एमालेलाई नै अप्ठेरोमा पारेको थियो ।

 

त्यो कार्यक्रममा प्रश्नकर्ता भावना राउतमाथि स्थापितले आक्रोशित भएर अपशब्द प्रयोग गरेपछि अवस्था असामान्य बन्न पुगेको थियो । यो विषयले राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएको थियो । त्यस विषयमा स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको थियो ।

 

एमालेले उम्मेदवारहरूमाथि लगाम कसेर चुनाव जित्न काठमाडौँसहितका महानगरमा पदाधिकारीहरूलाई कमान्डर तोकेको छ।

 

एमालेले काठमाडौँमा ईश्वर पोखरेल, पोखरामा पृथ्वी सुब्बा गुरुङ र चितवनमा सुरेन्द्र पाण्डेलाई  चुनावी कमान्डर तोकेको छ ।