close

खेती किसानी गरेर राजनीतिमा आएको हुँ, फराकिलो मतान्तरले जित्छु : चापागाईं (अन्तर्वार्ता)

खेती किसानी गरेर राजनीतिमा आएको हुँ, फराकिलो मतान्तरले जित्छु : चापागाईं (अन्तर्वार्ता)

Trulli
ADVERTISEMENT

स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकामा एमालेबाट मोहन चापागाईं मेयर पदका उम्मेदवार छन् । 

पत्रकारिता पेसामा लागेका चापागाईं नेपाल पत्रकार रुपन्देहीको अध्यक्ष केन्द्रीय सदस्य हुँदै अकोराको अध्यक्षसमेत भएका थिए । विभिन्न सामाजिक संघ/संस्था तथा नेकपा एमालेको राजनीतिमा सक्रिय  चापागाईं तिलोत्तमामा एमालेको तर्फबाट मेयरको उम्मेदवारी बनेका छन् । 

प्रस्तुत छ, चापागाईंसँग पालिका खबरका लागि चन्द्रकान्त खनालले गरेको कुराकानी :

 

चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

 

तिलोत्तमा नगरपालिका अन्य पालिकाभन्दा भिन्न छ । गत निर्वाचनपछि बनेको कार्यकारी बोर्डले जुन काम गर्‍यो ।  त्यो एमालेले चुनाव जितेका कारण संभव भएको हो । जसका कारण नगरबासी उत्साहित छन् । हामी पनि केही गर्न सक्छौँ भनी विश्वासमा छौँ ।

 

चुनाव जित्ने आधार के के छन् ?

 

एमालेको नेतृत्वले संघीय सरकार, प्रदेश सरकारमा गरेका काम र हामीले यसअघि पाँचवर्षे कार्यकालमा यो नगरपालिकालाई जस्तो बनाएका छौँ यो नै विजयको पहिलो आधार हो ।  

 

यसअघि हामीले हरियालीयुक्त,सुन्दर, खुल्ला प्लाष्टिकमुक्त र बालमैत्री नगरपालिका बनाएका छौँ । नेपालका अन्य नगरपालिकाको तुलनामा हामीले धेरै कानुन बनाएका छौँ याे दाेस्रो आधार हो । 

 

यस्तै, गुणस्तरयुक्त र सुशासनयुक्त नगरपालिकाका रूपमा विकसित गरेका छौँ । यो हिसाबले विगत पाँच वर्षमा हामीले गरेका काम नै चुनाव जित्ने एउटा महत्वपूर्ण आधार हुन् । 

 

तेस्रो हामीले प्रतिबद्धतामार्फत् नगरमा हामीले के गर्ने भनी योजना, नीति, कार्यक्रम सार्वजनिक गरेका छौँ ।

 

त्यसमा हामीले यो नगरलाई एउटा शैक्षिक हवको रूपमा विकास गर्ने, सामुदायिक विद्यालयहरुबाटै गुणस्तरीय शिक्षा पाउने ग्यारेन्टी गर्ने, स्वास्थ्य बीमाका माध्यमबाट नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने, गएको पाँच वर्षमा जुन पूर्वाधारमा ठूलो लगानी गरेका छौँ ।

 

आगामी दिनमा ती पूर्वाधारमार्फत् सहज सेवा प्रदान गर्न यहाँका नागरिकले मतदान गर्नुहुन्छ ।  त्यसले गर्दा हामी फराकिलो मतान्तरसहित चुनाव जित्छौँ।

 

एकातिर कांग्रेस र माओवादीको गठबन्धन छ, अर्कातिर एमाले एक्लै प्रतिस्पर्धामा छ । कत्तिको चुनौती छ ?

 

तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन भत्किएको छ भने काँग्रेस र माओवादीबीच तालमेल छ । यो गठबन्धन केवल पद प्राप्तिका लागि मात्रै हो भन्ने कुरा जनताले बुझेका छन् ।

 

राजनीतिमा आफ्नो नीति, विचार कार्यक्रमको कुरा लागू गरेर जाने कुरा हो । त्यो कुरामा उहाँहरूको ध्यान छैन । सम्पूर्ण ध्यान उहाँहरूले कसरी पद प्राप्त गर्ने भन्नेमा मात्रै देखिन्छ । 

 

त्यसले गर्दा तिलोत्तमा नगरपालिकाको सन्दर्भमा गठबन्धन केवल व्यक्तिको हितका लागि गरिएजस्तो लाग्छ । त्यसले गर्दा यहाँ गठबन्धनको यहाँ त्यति धेरै सार्थकता छैन । एमालेभित्र हामी सबै एकताबद्ध रूपमा अगाडि बढेका छौँ भने नेपाली काँग्रेसभित्र असन्तुष्टि व्याप्त छ । यसले गर्दा चुनाव एमालेले जित्ने कुरामा दुईमत छैन ।

 

तिलोत्तमाले देशमै चर्चा कमाएको छ, यसलाई कायम राख्न तपाईंका योजना र प्राथमिकता के छन् ?

 

शिक्षा, स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाह नागरिकको चाहना हो । सुशासनयुक्त नगरपालिका निर्माणदेखि विकास निर्माणमा तदारुकताका साथ नगरबासीलाई साथमा लिएर अगाडि बढ्ने योजना छ ।

 

साना साना काम गरेर नागरिकलाई उत्साहित बनाएर हिँडेका छन्, त्यसलाई अझ नयाँ उचाइका साथ  नयाँ तहबाट हामीले काम गर्छौँ । प्रतिबद्धतापत्रमार्फत हामीले आफ्ना योजना सार्वजनिक गरेका छौँ । खास गरेर शिक्षा, स्वास्थ्य, हरेक ठाउँमा स्वस्थ नागरिक निर्माण गर्ने, खेल मैदान निर्माण गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नेजस्ता धेरै योजना र कार्यक्रम छन् । 

 

जातजाति, भाषाभाषी, धर्मप्रति हामी असाध्यै सहिष्णु भएर सांस्कृतिक धरोहरलाई हामीले संरक्षण गरेर अगाडि बढाउँछौँ । सिँंचाइ प्रणालीदेखि अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने कुरा मेरो प्रमुख प्राथमिकता छ । 

 

सामान्य किसान हुँदै राजनीति क्षेत्रमा प्रवेश गर्नुभयो । विगतलाई कसरी स्मरण गर्नुहुन्छ ?

 

चुनावभन्दा अगाडि सबै मान्छे आउँछन्, चुनाव जितिसकेपछि प्रतिनिधि आउँदैनन् भनेर मलाई ठाउँठाउँमा धेरै जनाले प्रश्न गर्नुभएको छ ।

 

यस्ता कुरा आइरहेका छन् । म आफैँमा एउटा सामान्य परिवारबाट असाध्यै मिहिनेत र दुःख गरेर यहाँसम्म आएको हुँ । मलाई के लाग्छ भने मेरो जिन्दगीमा म कहिल्यै पनि दम्भ, घमण्ड, अह‌ं प्रदर्शन गर्ने भन्ने हुँदैन ।

 

निर्वाचित भइसकेपछि सेवकको रूपमा भूमिका निर्वाह गर्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । हामीले नगरपालिकाको सेवा प्रवाहलाई प्रविधियुक्त बनाएर अगाडि बढाएर लैजान चाहन्छु । म तिलोत्तमा नगरबासीलाई हामी सेवकको रूपमा काम गर्ने पूर्ण विश्वास दिलाउन चाहन्छु ।