close

धुर्काेट गाउँपालिका अध्यक्ष पदमा कसले मार्ला बाजी, यस्ता छन् उम्मेद्वारका एजेन्डा 

धुर्काेट गाउँपालिका अध्यक्ष पदमा कसले मार्ला बाजी, यस्ता छन् उम्मेद्वारका एजेन्डा 

Trulli
ADVERTISEMENT

रुपन्देही । गुल्मी जिल्लाको  चर्चित धुर्कोट गाउँपालिकामा स्थानीय चुनावी माहोल तातेको छ । 

 

यस पालिकामा यसअघि २०७४ सालमा तालमेल गरेका नेपाली कांग्रेस र माओवादीबीच यसपटक भने तालमेल भएको छैन । 

 

बरु केन्द्रमा भएको तालमेललाई बेवास्था गर्दै नेपाली कांग्रेस, समाजवादी, जनमोर्चा, जनतासमाजवादीबीच तालमेल गरी यस पालिकामा अध्यक्ष पदा नेपाली कांग्रेसका महेन्द्र भण्डारीलाई उम्मेद्वारको रूपमा अघि सारिएको छ । 

 

त्यसैगरी, अध्यक्ष पदमा माओवादी केन्द्रका अध्यक्ष भूपाल पोखरेललाई अघि सारेर माओवादी र नेकपा एमालेबीच तालमेल भएको छ । 

 

तर, जिल्लाका अन्य पालिकामा माओवादी नेपाली कांग्रेसलगायत सत्ता गठबन्धनका  साझा उम्मेद्वार बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने केही पालिकामा नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । 

 

यस पालिकामा अध्यक्ष पदमा उठेका दुवै उम्मेद्वारले नमुना गाउँपालिका बनाउने घोषणा गरेका छन् । 

 

माओवादी केन्द्र र एमाले गठबन्धनका उमम्मेद्वार भूपाल पोखरेले निवर्तमान अध्यक्ष हुन भने सत्ता गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार महेन्द्र भण्डारी अघिल्लो चुनावमा तालमेल हुँदा अध्यक्ष छाडेका थिए । 

 

सत्तागठबन्धनको तर्फबाट धुर्काेट गाउँपालिका अध्यक्षका प्रत्याशी महेन्द्र भण्डारीले धुर्कोटको आवश्यकताका आधारमा दिगो विकास आफ्नो मुख्य एजेन्डा भएको बताएका छन् । 

 

उनले भने, ‘सर्वसाधारण जनताको प्रतिव्यक्ति आयमा वृद्धि हुनेगरी जनताको जीवनस्तरमा समतामूलक विकास गर्नु मेरो कर्म हो । धुर्कोट गाउँपालिकाका सातै वडामा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगार, सडक र खानेपानीलाई केन्द्रबिन्दुमा राखी समग्र धुर्कोटको समानुपातिक विकास गर्नु मेरो मुख्य एजेन्डा हो । धुर्कोटको समानुपातिक विकासको मुख्य एजेन्डा लिएर इमान, निष्ठासहित जनतामाझ आउँदैछु यही नै मेरो जित्ने आधार हो ।’ 

 

के छन्, भण्डारीका एजेन्डा ?

वर्षेनी बाटोमा थुप्रै स्थानीय तहले बजेट खन्याउँछन्, ग्राबेल, मर्मत गर्छन् । तर, असार लागेपछि बाटो झन् जीर्ण बन्ने समस्या छ । यी समस्या समाधानका सानो–सानो बजेट वर्षेनी सक्काउनुभन्दा बजेटले भ्याएसम्म केन्द्रीय र प्रदेश सरकारको समन्वयमा बाटो कालोपत्रे गर्ने र त्यो पनि असम्भव सबै बाटोको पानीको निकासीका लागि नालीको निर्माण गरिनेछ । 

 

पछिल्लो समय कृषि पेसाका लागि बादर मुख्य समस्या बनेको छ । बादर समस्या समाधानका लागि जंगलबाट गाउँ छिर्ने ठाउँमा बादर विकर्षण प्रणाली ध्वनि मेसिनको जडान र जंगलमा बादर आकर्षण प्रणाली प्रयोग र परीक्षणको व्यवस्था गर्ने आफ्नो योजना छ । 

 

उत्पादनमा आधारित अनुदान एक उत्तम विकल्प बन्न सक्छ युवालक्षित कृषि कार्यक्रम नाफामूलक कृषि कार्यक्रम (बजारमा उच्च मूल्य पर्ने कृषि वस्तुमा प्रोत्साहन गर्ने ।) कार्यान्वयन गरिनेछ । 

 

मूल्य शृंखला चेतना जगाउने कार्यक्रम आपूर्ति शृंखलाबारे कृषकलाई चेतना दिइनेछ । 

 

सिँचाइ अभाव समाधानका लागि कुलो निर्माण, पानीको उचित प्रयोगका लागि नवीनतम सिँचाइ प्रविधिजस्तै थोपा सिँचाइलाई प्रोत्साहन गर्ने, पशुपालन गरी कृषकलाई प्राविधिक ज्ञान दिने, विभिन्न रोगको आक्रमणबाट क्षति समाधान गर्ने,  खोप कार्यक्रम सञ्चालन गरिनेछ । 

 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका नाममा झार गोड्ने, अनावश्यक काममा लगाउने प्रचलन बढेको छ । धुर्कोट गाउँपालिकामा बसाइसराइ गरेर तराई जानुभएका अधिकांश मानिसको जमिन बाँझो छ । उक्त जमिनलाई धुर्कोट गाउँपालिकाले सदुपयोग गरी स्वरोजगार कार्यक्रम सञ्चालन गरी उत्पादनमुखी बनाउने, घर बसी–बसी गर्नसक्ने विभिन्न सीपमूलक तालिम दिई महिलालाई आत्मनिर्भर बनाउन प्रयत्न गरिनेछ । 

 

स्वास्थ्यमा एक विद्यालय एक नर्स कार्यक्रम महिलालाई निःशुल्क सेनेटरी प्याड स्वास्थ्य बिमालाई विशेष प्राथमिकता ६० वर्षमाथिका नागरिक, गर्भवती महिला, दीर्घरोगी, अपांगतालगायतलाई घरमै स्वास्थ्य सेवा दिइने व्यवस्था मिलाइनेछ । धुर्कोट गाउँपालिकाबाट अन्य गएर उपचार गराउँदा रगतको आवश्यकता पर्ने र जुटाउन हम्मे–हम्मे हुने समस्या छ । 

 

धुर्कोट गाउँपालिकाले रक्तदानसहित जनचेतनामूल कार्यक्रम गरी रगत आवश्यक पर्ने ठाउँमा उपलब्ध गराउन समन्वयकारी भूमिका खेल्नेछ । वडामै सुविधयुक्त प्रयोगशाला उपचार गराउन गाउँपालिकाबाट बाहिर जानुपर्ने विवशताको अन्त्यका  लागि विभिन्न कोणबाट प्रयत्न गर्नेछ ।

 

शिक्षालाई समयको आवश्यकताअनुरुप डिजिटल तथा प्रविधिमैत्री साक्षारता कार्यक्रम, अनौपचारिक शिक्षामार्फत् विभिन्न विशिष्ट व्यक्तिले गरेका प्रगतिलाई मध्यनजर गर्दै सुविधासम्पन्न पुस्तकालयको अवधारणालाई लागू गर्ने टोलटोलामा वित्तीय साक्षरता कार्यक्रम गर्नेछ ।  

 

लघुवित्तले गर्दा घरबास उठ्ने अवस्था भएको कुरालाई ख्याल गर्दै विद्यालयमा सिर्जनाशीलतालाई प्रोत्साहन गर्ने, व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्ने, प्रत्येक विद्यालयमा स्थानीय तहबाट सिपमूलककक्षा÷तालिम सञ्चालन गर्ने धुर्कोट गाउँपालिकामा पढेका विधार्थी सबै कुरामा अब्बल छन् भन्ने कुराको सन्देश सिंगो नेपाललाई दिने दिवाखाजा कार्यक्रमलाई थप स्तर उन्नति गरी पोषणयुक्त खाजाको व्यवस्था गर्ने, स्नातक तहमा प्राविधिक विषय विषय पढ्ने कम्तीमा दुई विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रधान गर्ने, अभिभावकलाई पनि जागरुक बनाउने शिक्षा प्राणाली अपनाउने कार्यक्रम कार्यान्वयन हुनेछन् । 

 

पर्यटन विचित्र गुफा सेरोफेरोमा खुला ठाउँलाई उचित व्यवस्थापन गरी पिकनिकस्थल एवं बोटानिकल गार्डेन बनाइनेछ । 

 

धुर्कोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरी आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने प्रकोप व्यवस्थापन बाढी प्रभावित क्षेत्रमा तटबन्ध गरी नियन्त्रण एवं रोकथाम पहिरोग्रसित क्षेत्रमा सकेसम्म बसाइसराइ गराई सुरक्षित स्थानमा लैजाने र एकीकृत बस्तीको विकास गरिनेछ । 

 

धारामा २४ सै घन्टा पानी वा पँधेरामा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरी सानो करेसाबारीका लागि आवश्यक पर्ने पानीको सहज व्यवस्था गरिनेछ । 

 

खेलकुद गुणस्तरीय खेलकुद मैदान निर्माण, संरक्षण गरिनेछ । क्षमतावान् खेलाडी छनोट गरी आवश्यक तालिम तथा पोषण कार्यक्रम अघि बढाइनेछ । 

 

के छन्, भूपाल पोखरेलका योजना ?

 

धुर्कोट गाउँपालिकामा अध्यक्षका उम्मेद्वार भूपाल पोखरेलले आफ्ना अधुरा र अपूरा काम सम्पन्न गर्न र अघिल्लो कार्यकालमा आफूले गाउँपालिकाको विकासका निम्ति जग बसाले । ती कामलाई पूरा गरी देशकै नमुना गाउँपालिका बनाउन मैले पुनः उम्मेद्वारी दिएको हुँ । 

 

‘युवाहरूबाट परिवर्तन सम्भव छ’ भन्ने उदाहरण यसअघिकै कार्यकालमा प्रमाणित भएको छ । 

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानीकरण अनुदानका लागि १७ सूचकका आधारमा मूल्यांकन गर्दा धुर्कोट गाउँपालिका देशकै तेस्रो पालिका भएको छ ।  

 

गाउँपालिकाका अधुरा काम पूरा गर्न  र स्थानीयको माग पूरा गर्न आफूले पुन उम्मेद्वारी दिएको उनको दाबी छ । 

 

पाँच वर्षको कार्यकालमा ८० प्रतिशत स्थानीयको घरमा एक घर एक धारा पुगेको, गाउँपालिकालाई गुल्मी जिल्लाकै पहिलोपटक खरको छानामुक्त गाउँपालिका घोषणा गरेको, गाउँपालिकाको आफ्नो प्रशासकीय भवनसँगै सभाहलहरु निर्माण गरेको उनले बताए ।

 

युवाहरूलाई गाउँमै व्यावसायिक रूपमा कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार बनाउने, सडक सञ्जाललाई स्तरोन्नतिसँगै कालोपत्रे गर्ने, बसाइसराइँको दरलाई कम गर्न सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइ देशकै नमुना गाउँपालिका बनाउने उनको दाबी छ ।

 

उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका महेन्द्र भण्डारी उत्रिएका छन् । यसअघि भएको निर्वाचनमा पोखरेल नेपाली कांग्रेससँगको तालमेलबाट अध्यक्ष पदमा विजयी भएका थिए । 

 

कति छन् मतदाता ? 

 

धुर्काेट गाउँपालिकामा १८ हजार मतदाता छन् ।