close

मोतीपुर औद्योगिक क्षेत्रका स्थानीयलाई सरकारले विस्थापन गर्दैन : गृहमन्त्री खाँण

मोतीपुर औद्योगिक क्षेत्रका स्थानीयलाई सरकारले विस्थापन गर्दैन : गृहमन्त्री खाँण

Trulli
ADVERTISEMENT

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मोतीपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् । मंगलबार रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले यस्तो बताएका हुन् । 

 

‘यस क्षेत्रका स्थानीयलाई विस्थापित गरिँदैन, सबैलाई व्यवस्थापन गरिनेछ । जनताको सुरक्षामा सरकार प्रतिबद्ध र जिम्मेवार छ,’ मोतीपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘जनतालाई पूर्ण भरोसा र विश्वास गरेरै सरकार अघि बढ्छ । यो महत्त्वपूर्ण आयोजना हो, यसमा कुनै समस्या आउने छैन, तपाईंहरूको सकारात्मक सहयोग रहोस् ।’

 

गृहमन्त्री खाँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

 

सीमित स्रोत र साधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंसायोग्य रहेको उनको भनाइ छ । 

 

गृहमन्त्री खाँणले निर्वाचनका बेला स्थानीय प्रशासन र सुरक्षा निकायले आगामी दिनमा पनि योभन्दा पनि राम्रो व्यवस्थापन गर्नेमा आफू आशावादी रहेको बताए । 

 

त्यस्तै, मन्त्री खाँणले बुटवल–१७ मा रहेको मुक्तेश्वर शिवालय मन्दिरमा वैदिक परम्पराअनुसार पूजा अर्चनासमेत गरे । खाँणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । 

 

उनले सबै जातजाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने उनले बताए । 

 

सो अवसरमा गृहमन्त्रीसहित कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा चौधरी, महासमिति सदस्य विमल ढकाल, प्रदेश प्रतिनिधि भीमप्रसाद न्यौपाने, वडा नम्बर १७ का पार्टी सभापति बाबुराम घिमिरे, सचिव कमल गुरुङ ,वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेद्वार ज्ञानबहादुर रेस्मी, वडा नम्बर १८ का अध्यक्ष पदका उम्मेद्वार गोलेप्रसाद चौधरी, १९ का अध्यक्ष पदका उम्मेद्वार मीनप्रसाद श्रेष्ठलगायतले वैदिक परम्पराअनुसार पूजा गर्दै विश्व शान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे ।