close

मतदातामा देखियो उत्साहको कमी

मतदातामा देखियो उत्साहको कमी

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोग, नेपालले पूर्व अनुमान अनुसार नै देशभर मत खसिरहेको बताएको छ । तर, काठमाडौँ महानगरपालिकामा भने सोच अनुरूप मतदान हुन सकिरहेको छैन ।

 

काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका मतदान केन्द्रहरू पुग्दा मतदातामा उत्साहको कमी आएको हो कि भन्ने देखिन्थ्यो । त्यसमाथि दिउँसो केही स्थानमा बदली र वर्षा भएसँगै मतदान केन्द्रमा मतदाताको संख्यामा कमी आउन थालेको देखियो ।

 

मतदान केन्द्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिका रूपमा खटिएकाहरू नै काठमाडौँ जस्तो राजधानी रहेको महानगरमा पाँच दलीय गठबन्धन र एमालेले समेत जनताको मन जित्ने उम्मेदवार खडा गर्न नसकेका कारण मतदाताको उत्साहमा कमी आएको हो कि भन्ने अड्कल गर्छन् ।

 

‘खै हाम्रो पार्टीले मेयर र उपमेयरमा हामीले खोजे झैँ क्यान्डिडेट उठाउन सकेन, यसले मतदातामा उत्साह ल्याउन नसकेको हो कि जस्तो लाग्छ,’ काठमाडौँ वडा नम्बर ७ स्थित मित्रपार्क मतदान केन्द्रमा भेटिएका एमालेका एक प्रतिनिधिले बताए ।

 

यस्तो धारणा एमालेका कार्यकर्ताको मात्र छैन । नेपाली काँग्रेसका कार्यकर्ताहरूको पनि यस्तै धारणा छ । गठबन्धनका नाममा काँग्रेसलाई अप्ठेरो पारिएको पनि उनीहरू बताउँछन् ।

 

‘कतिपय काँग्रेसी कार्यकर्ता नै सिर्जना सिंहलाई मेयरमा उठाएपछि चिढिएका छन् । मलाई लाग्छ, उनीहरूको मत स्वतन्त्र उम्मेदवारलाई जान्छ कि भन्ने,’ ७ नम्बर वडाको मैजुबहालमा भेटिएका एक काँग्रेसी कार्यकर्ता दुखेसो पोख्दै थिए ।

 

नेपालको राजनीति बिस्तारै काँग्रेस र एमालेका रूपमा दुई खेमा विभाजित हुन थालेको अवस्थामा स्थानीय कार्यकर्ता भने मेयर र उपमेयरभन्दा पनि वडा अध्यक्ष र सदस्यहरूलाई जिताउन बढी खटिएको केही मतदान केन्द्रमा घुम्दा प्रस्ट हुन्छ । 

 

उनीहरूको आशय प्रमुख पदहरूमा लायक उम्मेदवार नभएकै कारण यस्तो अवस्था आएको हो । यो विषयलाई आधार मान्ने हो भने काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखमा झिनो अन्तरले हार जितका फैसला हुने अनुमान गर्न सकिन्छ ।

 

उता, काठमाडौँ महानगरपालिकामा मतदान गर्नेहरूको गुनासो भद्दा मतपत्रप्रति पनि छ । मतपत्र कै कारण कतिपय मतदाताले झुक्किएर एकै पदमा दुइटा चिन्हमा समेत छाप लगाएको भेटियो । यो संख्या अत्यधिक देखियो । कतिपयले भने मतपत्र बदर नहोस् भन्नका लागि उम्मेदवार नै नउठाएको पार्टीको चिन्हमा समेत मतदान गरेका छन् ।

 

काठमाडौँको रत्नराज्यलक्ष्मी मतदान केन्द्रमा खटिएका राजनीतिक दलका प्रतिनिधिहरु समेत यो कुरा सही रहेको बताउँछन् ।

 

मतदान केन्द्रमा पत्रकारहरूको प्रवेशमा रोक लगाइएको छ । मोबाइल, साँचो लगायत महिलाले ब्याग समेत बाहिरै राख्नु पर्ने व्यवस्था गरिएको छ । तर, कुनै पनि मतदान केन्द्रमा त्यस्ता समानहरू सुरक्षित तवरले राख्ने व्यवस्था मिलाइएको छैन ।

 

मतदान केन्द्रमा खटिएका कर्मचारी भने पहिलेदेखि नै केन्द्रमा लैजान हुने र नहुनेको वस्तु बारे जनचेतना मूलक कार्यक्रम संचालन गरिएको हुँदा मोबाइल, पर्स जस्ता बहुमूल्य वस्तु घर मै राखेर आउनु पर्ने कुतर्क गर्छन् । तर, वडा नम्बर ७ को मतदान केन्द्रमा भेटिएका महिलाहरू भने आफूहरूले यस्तो सूचना कतै नसुनेको बताउँछन् ।

 

मतदानको आधाभन्दा बढी अवधि सकिएको अवस्था काठमाडौँका धेरै मतदातामा स्थानीय तह निर्वाचनप्रति उत्साहमा कमी आउनुलाई सचेत मतदाता सही मान्दैनन् । 

 

‘राजनीतिज्ञको कमजोरीलाई साधारण जनताले प्रतिकार गर्ने भनेकै ब्यालेटले हो, यस्तो अवस्थामा जनता कमजोर बन्न हुँदैन,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘नेताहरू सुटकेसमा पैसा भर्ने, जनता खान नपाउने, अनि उत्साह पनि कसरी आओस् त ? प्रश्न यो पनि हो ।’

 

डा. दाहाल कै भनाइलाई विश्वास गर्ने हो भने कतिपय मतदाता विदेश पलायन भएका छन् भने कतिपयको मृत्यु भइसकेको छ । तर, मतदाता सूचीबाट उनीहरूको नाम नहटाइएको कारण पनि मतदान कम भएको जस्तो देखिएको हो ।

 

‘यो स्थानीय तह निर्वाचनले जस्तो परिणाम दिए पनि, त्यो नेतालाई सच्चिने अर्को एउटा मौका हुनेछ,’ उनले बिट मार्दै भने ।