close

चुरेको पहिरो रोक्न बुटवलमा वृक्षरोपण

चुरेको पहिरो रोक्न बुटवलमा वृक्षरोपण

Trulli
ADVERTISEMENT

रुपन्देही  । चुरे पहाडको पहिरो रोक्नका बुटवलमा वृक्षरोपण गरिएको छ । बुटवलको ज्योतिनगरस्थित चुरे पहाडबाट पहिरो खसेको ठाउँमा पर्खाल लगाउनुका साथसाथै वृक्षरोपण गरिएको हो । 

बिहीबार चुरे दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाको आयोजना, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवल र नेपाली सेनाको श्री गरुड दल गण रामनगर ब्यारेक बुटवलको सहकार्य र समन्वयमा बाँसका बिरुवा रोपिएको हो । 

पहिरो रोकथामका लागि पर्खाल लगाइएको क्षेत्र आसपासमा बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली सेनाका जवान र स्थानीय सो कार्यक्रममा सहभागी भएका थिए । 

वृक्षरोपणपछि नगरप्रमुख पाण्डेले ज्योतिनगर क्षेत्रको पहिरो रोकथामका लागि पर्खाल लगाउने, पानीको बहाव परिवर्तन गर्ने र वृक्षरोपण गरिएको बताए । 

‘यो पहिरो बुटवलकै लागि जोखिम बनेको छ, यसलाई रोक्न प्राविधिकहरूको सल्लाहअनुसार तारजालीसहितको पर्खाल लगाउने, पानीको बहाव परिवर्तन गर्ने र वृक्षरोपण गर्ने गरेका छौँ, उनले भने–यसो गर्दा पहिरो नियन्त्रण हुन्छ भन्ने विश्वास प्राविधिकहरूले दिलाउनुभएको छ, त्यसमा हामी विश्वस्त छौँ ।’

उनले पहिरोको जोखिम कम गर्न र दीर्घकालीन रूपमै समाधान गर्नका लागि बिरुवा रोप्ने र संरक्षण गर्ने काममा नगरले ध्यान दिएको बताए । 
यसमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको समेत साथ लिएर स्थानीयलाई जोखिमबाट मुक्त गर्नका लागि हामीले प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘यसमा स्थानीयको पनि साथ छ र नेपाली सेनाले पनि हामीलाई साथ दिएको छ, सबै मिलेर लागेपछि यहाँको समस्या समाधान हुन्छ ।’

नगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले पहिरो नियन्त्रणका बुटवल उपमहानगरपालिकाले निरन्तर रोकथामका कार्यक्रम र जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर योगेश चापागाईका अनुसार ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा भूक्षय नियन्त्रणका लागि ९ सय वटा बाँसका बिरुवा रोपिएको बताए । उनले बाँस छिटो हुर्किने र पहिरो रोक्नका लागि उपयोगी हुने भएकाले बाँसका बिरुवा रोपेको बताए ।