काठमाडौं । नेकपा एमालेका सचिव याेगेश भट्टराईले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र आफ्नाे सम्बन्धबारे ११ बुँदे स्पष्टीकरण दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले माधव नेपाललाई पञ्चायतकालमा कमरेड रन्जनकाे उपनामले चिनेदेखि हालसम्मकाे सम्बन्धका उचार-चढाबबारे प्रष्ट पारेका छन् ।
माधव नेपालबाट थुप्रै प्रशिक्षण लिएकाे भए पनि कसैकाे अन्धभक्त हुने स्वभाव आफ्नाे नरहेकाे भट्टराईले बताएका छन् । आफूहरूमाथि पटक–पटक भद्दा र असिष्ट टिप्पणी गरे पनि उहाँ (माधव नेपाल)काे सम्मानका लागि आफूले कुनै टिप्पणी नफर्काएकाे भट्टराईको भनाइ छ ।
तर पछिल्लाेपटक आफूले जीवनाेपयाेगी जवाफ फर्काउँदा समाजवादीका युवाकाे चित्त दुखेकाे उनले बताएका छन् । उनले लेखेका छन्, 'माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब खुशी हुनेगरी म भन्न चाहन्छु- “कमरेड माधव नेपाल दुई सय बर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”
भट्टराईकाे ११ बुँदे स्पष्टीकरण यस्तो छ:
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. वहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरुदेखि नै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौं ।
४. छैठौं महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौं ।
७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएँ ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।
पुनश्च: कमरेड माधव नेपालसँग सवाल-जवाफ गर्नु मेरो मनसाय होइन ।
(२०७९ असार १३ गते बिहान काठमान्डौं-धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण)