काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)मन्त्रालयबाट बिदा भएका छन् । आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठ बिदा भएका हुन् ।
पत्रकार सम्मेलनमा श्रेष्ठले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर कार्यकाल सफल बनाइदिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे ।
‘जसरी मलाई सहयोग गर्नुभएको थियो, त्यसैगरी नयाँ आउने मन्त्रीलाई पनि सहयोग गरेर सफल पार्दिनुहोला,’ उनले भने । आफू पदमा रहँदा विवादरहित ढंगले काम गरेको भन्दै उनले आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल भएको दाबी समेत गरे ।
मन्त्रालयबाट बिदा हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताउँदै उनले आफू फेरि मन्त्री हुन सक्ने उल्लेख गरे ।
उनले भने, ‘माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला, फेरि पनि चुनाव जितेर आउन सकिएला ।’
बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठ खासै भावुक देखिएनन्, बरु ठट्यौलो रूपमा पेस भए । उनले मन्त्री पद आफ्नो लागि ठूलो विषय नभएको बताए ।
उनले भने, ‘मलाई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन । आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु ।’
उनले छुट्टिँदा नरमाइलो लाग्नु स्वाभाविक भए पनि मन्त्री पद गएको चिन्ता नलिएको बताए ।