close

माडी क्षेत्रमा भूमिगत विद्युतीकरणको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

माडी क्षेत्रमा भूमिगत विद्युतीकरणको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको माडी क्षेत्रमा भूमिगत विद्युतीकरणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्। यस सम्बन्धमा पालिका खबरमा 'अँध्यारोका आदी माडीबासी र प्राधिकरणको एउटै भनाइ : निकुञ्ज र विभागले कुरै सुन्दैन' शीर्षकमा आजै समाचार समेत प्रकाशित भएको थियो ।

साथै प्रधानमन्त्री देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलाई पनि प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतसँग भेटपछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिएका हुन्। चितवन सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी क्षेत्र समेत हो ।

अघिल्लो सरकारको पालादेखि नै चितवनमा रहेका यी विकासका काम रोकिएका थिए । आम निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बेला प्रचण्डले जिल्लाबासीको मन जित्न समेत ती योजनाहरू अघि बढाउन पहल गरेका हुन् ।

'चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य रोकिएको विषय, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति गर्नेलगायतबारे प्रधानमन्त्रीज्यूले तुरुन्त कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिनुभयो,’ भरतपुर महानगरकी मेयर दाहालले प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारलाई बताइन्।