close

निर्वाचन प्रणालीले गणतन्त्र नै संकटमा : प्रचण्ड

निर्वाचन प्रणालीले गणतन्त्र नै संकटमा : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र र संघीयतालाई संकटमा पारेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको बताए । ‘यस्तो निर्वाचन प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भड्खालोमै लैजान्छ।’

उनले गत स्थानीय निर्वाचनमा एउटा गाउँपालिकामा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गरेको सुनेको बताउँदै यही प्रणालीमा संघको चुनाव जित्न अब अर्बौं रुपैयाँ आवश्यकता पर्ने दिन आएको गुनासो समेत पोखे ।

‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ । अब त संघको चुनावका लागि अर्ब चाहिने भयो’ प्रचण्ड भने, ‘गरिबले चुनाव जित्नु त सपना जस्तो भयो । अब त दलालहरू आउने भए ।’

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको बताए । गणतन्त्र पनि जनताको नभई बुर्जुवाको हुने हो कि भन्नेमा शंका रहेको उनको भनाइ थियो ।

यही निर्वाचन प्रणाली कायम रहेसम्म देशको अवस्था सुधार नहुने उनको दाबी छ । प्रचण्डले विद्यमान शासन प्रणाली पनि देश र जनताको अनुकूल नरहेको बताए ।

 ‘अहिलेको शासन प्रणालीमा सांसद नभई मन्त्री, प्रधानमन्त्री हुन पाइँदैन, त्यसैले करोडौँ खर्च गरेर सांसद हुन खोज्छन् । पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री भएपछि आफूले गरेको लगानी असुल्न खोज्छन् । अनि भ्रष्टाचार हुन्छ,’ उनले भने ।

यी विषयमा आफूहरूले संविधानमै ‘नोट अफ डिसेन्ट’ लेखेको जिकिर गर्दै उनले यही व्यवस्थामा रहेर यिनलाई सुधारका लागि आफूहरूले भूमिका निर्वाह गर्नुपर्ने प्रस्ट पारे । यसका लागि विचार र मुद्दा मिल्नेहरूको बीचमा सहकार्य होस्, सबैलाई न्याय हुने किसिमले गठबन्धन होस् भनेर पहल गरेको उनले बताए ।

उनले शान्ति प्रक्रियामा आउनुभन्दा केही महिना अघि ‘चुनवाङ बैठक’ मा त्यतिबेला देशको राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै अन्य दलसँग पनि सहकार्य गरेर जान सकियो भने देश गणतन्त्रमा जान सक्छ र त्यसको नेतृत्व हामीले गर्नुपर्छ भनेर किटेर लेखिएको पनि चर्चा गरे । सोही बैठकमा त्यो गणतन्त्र जनताको गणतन्त्र हुन्छ कि प्रतिक्रियावादीको बुर्जुवा गणतन्त्र हुन्छ भन्ने प्रस्ट छैन भनेर पनि प्रस्ट उल्लेख गरिएको भन्दै प्रचण्डले अहिले पनि देशको अवस्था त्योभन्दा भिन्न नरहेको बताए ।

उनले जनयुद्धको तयारी भइरहेको समयमा नरबहादुर कर्माचार्यले आफूलाई उत्प्रेरित गरेको स्मरणसमेत गरे । नरबहादुर कर्माचार्यले आफूलाई अभिभावकको रूपमा माया गर्ने गरेको उनले सुनाए ।