close

जनार्दन शर्मा प्रतिवेदनबारे ओली भन्छन् : मान्य छैन, सत्यमा अडिएर अघि बढ्छौँ

जनार्दन शर्मा प्रतिवेदनबारे ओली भन्छन् : मान्य छैन, सत्यमा अडिएर अघि बढ्छौँ

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सत्य र तथ्यमा आधारित नभएको बताएका छन्  । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शनिबार राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । 

‘इन्टरनेशनल छानबिन गरौँ। यो देशविरुद्धको अपराध हो। देशको अर्थतन्त्रमाथिको गम्भीर अपराध हो। जनताले राजस्व तिर्नुपर्छ। उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ। व्यवसायीको घाँटी निमोठिएको छ। केही औद्योगिक घराना पोस्न देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ', उनले भने, 'मामुली कुरा हो यो ? आइन्दा सच्याउला भन्ने कुरामा पनि छैन। यो विषयलाई गम्भीरताका साथ लिइएन। गल्ती भयो भन्नेसम्म छैन। अनि गल्ती नै भएको छैन? प्रमाणित भएन रे! ७ जनाले प्रमाणित हुनै दिएन, मानेन।'

सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको प्रतिवेदन नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी, उनले आफ्नो पार्टीलाई उक्त प्रतिवेदन मान्य नहुने बताउँदै जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने पार्टीको अडान रहेको बताए । 

उनले भने,  'त्यो त पार्लियामेन्टमै हुन्छ-हुन्न? गरेको भए भइहाल्थ्यो नि! गठबन्धनसँग बहुमत छँदैछ। त्यहाँ पनि हुन्छ-हुन्न भनेर निर्णय गर्ने भएपछि। सत्य होइन, हुन्छ र हुन्नको आधारमा ११ जनाको समिति बनाउने', उनले भने, 'सातजना आफ्ना राखेर ल्याउने रिर्पोट? यो कुनै रिर्पोट होइन। तथ्यमा आधारित होइन। त्यसलाई मान्न सक्ने कुरा हुँदैन। नेपाली जनताले त्यसलाई अस्वीकार गर्नु पर्दछ। हामी फरक ढंगले यसमा जे सत्य हो, त्यसमा अडिएर हामी अघि बढने छौं।’