काठमाडौं । कास्कीमा ११ हजार एक सय ४२ मतदाता थप भएका छन् ।
प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार महिला पाँच हजार सात सय ६४ र पुरुष पाँच हजार तीन सय ७८ नयाँ मतदाता थपिएका हुन् ।
बाहिरी जिल्लाको समेत गरी महिला सात हजार तीन सय ९३ र पुरुष सात हजार छ सय नौ गरी १५ हजार दुई जनाले सो अवधिमा कार्यालयमा नाम दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।
उनका अनुसार बाहिरी जिल्लाका महिला एक हजार ६ सय २९ र पुरुष दुई हजार दुई सय ३१ गरी तीन हजार आठ सय ६० जनाको नाम दर्ता भएको छ ।
कार्यालयले बाहिरी जिल्लाको नाम दर्ता भएकाहरुको हकमा सम्बन्धित जिल्लामा नै पठाउनेछ ।
यसैगरी अन्य जिल्लामा दर्ता भएकाहरूको कास्की जिल्लाका मतदाताको नाम आयोगले यहाँ पठाउने उनले जानकारी दिए । उनले भने, ‘निर्वाचनको मिति घोषणापछि नयाँ नाम दर्ता रोकिएको छ । अब बाहिरी जिल्लाको दर्ता भएको नाम सम्बन्धित जिल्लामा पठाउँछौँ । अन्य जिल्लाको पनि यसैगरी हामीकहाँ थप हुन्छ ।’
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता रहेका थिए । सरकारले स्थानीय तहको निर्वाचनपछि असारदेखि नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता सुरु भएको थियो ।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरुले चुनाव केन्द्रित कार्यक्रम अघि बढाएका छन् । दलहरुले आन्तरिक भेला, प्रशिक्षण तथा सङ्गठन विस्तारका कार्यक्रम गाउँ–गाउँसम्म सञ्चालन गरेका हुन् ।