close

कर्णालीमा १४ हजार जनपद प्रहरी परिचालन, मदिरा बिक्री र सेवनमा रोक

कर्णालीमा १४ हजार जनपद प्रहरी परिचालन, मदिरा बिक्री र सेवनमा रोक

Trulli
ADVERTISEMENT

सुर्खेत । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कर्णालीमा १४ हजार ८०७ जना सुरक्षाकर्मी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरण तयार पार्न मतदानस्थलमा ५ हजार ७२९ जना नेपाल प्रहरी  र ९ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी खटाइएको हो। यसका अतिरिक्त नेपाली सेना र सशस्त्र प्रहरी समेत सुरक्षामा खटिने छन्।

प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुनेछ। प्रवक्ता श्रेष्ठले प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमान्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिएका छन्।

प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकको निर्णय अनुसार हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा हेलिकप्टरबाट निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको व्यवस्था मिलाइएको उनले जानकारी दिए। “माथिल्लो कर्णालीका जिल्लामा अब हिमपात पनि सुरु भइसकेको छ, यस्तो अवस्थामा हामीले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारको लागि हेलिकप्टरको प्रबन्ध पनि गरेका छौँ,” उनले भने।

कर्णालीमा सुरक्षाका दृष्टिकोणले दुई सय ६७ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन्। कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन् ।

उता कर्णाली प्रदेशका जिल्ला प्रशासन कार्यालयले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर मदिरा बिक्री वितरणमा रोक लगाएका छन्। आफ्नो आफ्नो जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

सुर्खेतमा पनि शुक्रबारदेखि मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन्।

यही कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको उनले जानकारी दिएका छन्। प्रशासनले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आम सञ्चारमाध्यम, सर्वसाधारणलगायत सबैमा अनुरोधसमेत गरेका छन्।

यस्तै मतदान कार्य सुरु हुनु २४ घण्टा अगाडिदेखि ग्यास सिलिन्डर, पाइप, सकेट, प्रेसर कुकुरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको प्रजिअ रिजालले जानकारी दिएका छन्।