close

२९ पालिकाले प्रहरीविरुद्ध किन गरेनन् गुनासो ?

२९ पालिकाले प्रहरीविरुद्ध किन गरेनन् गुनासो ?

Trulli
ADVERTISEMENT

मकवानपुर - बाग्मती प्रदेशका प्रहरीविरुद्धको गुनासो तथा सुझाव संकलन गर्न ३१ पालिकामा राखिएको पेटिकामा २ पालिकाबाट मात्रै गुनासो परेका छन् ।

 

बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले १ असोजमा प्रदेशका उपमहानगर, नगरपालिका र सदरमुकाम रहेका गाउँपालिकामा गरी ३१ स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको थियो । तर, १ कात्तिकमा कार्यालयले पेटिका खोलेपछि २ पालिकाबाट मात्रै प्रहरीविरुद्धको गुनासो परेको हो ।

 

कार्यालयले स्थापना गरेको गुनासो तथा सुझाव संकलन कार्यको प्रभावकारिता कम भएको पाइएको छ । धादिङ र मकवानपुरमा राखिएको पेटिकामा ६ वटा मात्रै गुनासा संकलन भएको कार्यालयले जानकारी दिएको छ ।


हेटौंडा उपमहानगरमा राखिएको पेटिकामा एउटा र धादिङको नीलकण्ठ नगरपालिकामा राखिएको पेटिकाबाट ५ गुनासो संकलन भएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए ।

 

हेटौंडा र नीलकण्ठ नगरपालिकाबाहेकका स्थानीय तहको कार्यालयमा राखिएको पेटिकामा भने कुनै पनि सुझाव तथा गुनासो  नखसेको गिरीले जानकारी दिए ।

 

कार्यालयले पहिलो चरणमा सबै महानगर, उपमहानगर, नगरपालिका र सदरमुकाम रहेको गाउँपालिका गरी ३१ स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको एसएसपी गिरीले बताए ।

 

कार्यालयमा रहेको गुनासो उजुरी छानबिन शाखाले फर्छ्याैट गरेपछि सम्बन्धित व्यक्तिलाई जानकारी गराइनेछ । उजुरी कार्यान्वयन भएपछि प्रदेश प्रहरीको आधिकारिक वेबसाइटमा समेत सार्वजनिक गरिने एसएसपी गिरीले बताए ।


गुनासो संकलन अभियान सञ्चालन गर्ने बाग्मती प्रदेश प्रहरी कार्यालय पहिलो हो । ‘पेटिका राख्ने तयारीअनुरुप दोस्रो चरणमा ६७ गाउँपालिका र तेस्रो चरणमा प्रदेशभरका ८ सय ७४ वडा कार्यालयमा पनि गुनासो तथा सुझाव संकलन पेटिका राखिनेछ’, एसएसपी गिरीले भने ।


प्रहरीविरुद्ध प्रहरी कार्यालयमै गएर गुनासो व्यक्त गर्न असहज हुने देखिएपछि अपेक्षित गुनासो संकलन हुन नसकेको भन्दै स्थानीय तहसँगको सहकार्यमा पेटिका राखेको हो ।