close

मानेभन्ज्याङमा राष्ट्रिय परिचयपत्र अभिलेख दर्ता गर्नेको घुईँचाे

मानेभन्ज्याङमा राष्ट्रिय परिचयपत्र अभिलेख दर्ता गर्नेको घुईँचाे

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-५ का ९२ वर्षीय चन्द्रबहादुर राईले राष्ट्रिय परिचयपत्रको दर्ता निस्सा बुझेपछि नजिकै रहेका सांसद यज्ञराज सुनुवारलाई सोधे, ‘यसले के पाइन्छ ?’  जवाफमा सुनुवारले ‘अब तपाईंले नागरिकताजस्तै कार्ड पाउनुहुन्छ, यसका आधारमा सरकारले दिने सेवा लिन सहज हुन्छ’ भनेपछि वृद्ध राई खुसी भए । सांसद सुनुवारले वृद्ध राईलाई निस्सा प्रदान गरेर दर्ता राष्ट्रिय परिचयपत्रको दर्ता अभियान उद्घाटन गरे । 

 

२०७२ मा पाँचथरबाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरणको अभियान हालै जिल्लाको मानेभन्ज्याङ आइपुगेको छ । गाउँपालिकाका वडा-वडामा अहिले परिचयपत्रमा समावेश गरिने विवरण संकलन तथा फाराम दर्ता चलिरहेको छ । 


गाउँपालिकाका ९ वडाका २० स्थानमा ४० टोलीले दर्ता सुरु गरेको छ । तिहारअघि मानेभन्ज्याङ निम्ट्याएर खिजीदेम्वामा सुरु गर्ने तयारी छ । दर्ताका लागि गाउँपालिकाबासी उत्साहित छन् । भीड हुने देखिएकाले समय तोकेर नागरिकलाई बोलाउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 


‘जिल्लाका आठै तहमा आउँदो चैतअघि सम्पन्न गर्ने गरी काम अघि बढेको छ । दर्तामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले सहजीकरण तथा अनुगमन गर्नेछन्’, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने ।

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र मानेभन्ज्याङसँगको सहकार्यमा अभियान थालेको हो । अभियान उद्घाटनमा विभागका महानिर्देशक जीतेन्द्र बस्नेतसमेत उपस्थित थिए ।

 

सरकारले मुलुकको सरहदभित्र बस्ने नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबै खाले सेवा प्रवाह छिटो-छरितो गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचयपत्र वितरण अभियान चलाइरहेको छ ।


कार्यक्रममा विभागका महानिर्देशक बस्नेतले पालिकाका वडा–टोलका सबै नागरिकको अभिलेख राख्न स्थानीयको सहयोग आवश्यक रहेको बताए । ‘सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गरी छरितो सेवा प्रवाह र विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले अभियान सुरु भएको छ । जिल्लाभर दर्ता सकेर परिचयपत्र वितरण गरिनेछ’, महानिर्देशक बस्नेतले भने ।


कोरोना संक्रमणका कारण विभिन्न जिल्लाको अभियान अवरुद्ध भएको अवस्थामा ओखलढुंगा संक्रमण शून्य भएकाले सञ्चालन गर्न जनप्रतिनिधिहरूले पहल गरेका थिए । अहिले राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले कर्मचारीसहितको टोली खटाएको छ । 

 

अभियानमा खटिएका टोलीलाई सहयोग गर्न गाउँपालिकाले वडा कार्यालयका कर्मचारी तथा तथा स्वयं सेवक परिचालन गरेको छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिका वैयक्तिक तथा जैविक विवरण, उसको सामाजिक तथा आर्थिक स्तर, धर्म तथा संस्कार सबै अभिलेख समेटिनेछ । परिचयपत्रको अभिलेखबाट विकास निर्माण योजनादेखि अपराध अनुसन्धानमा समेत सहयोग पुग्नेछ । 


जिल्लामै पहिलो पटक आफ्नो गाउँपालिकाबाट विवरण दर्ता अभियान सुरु भएकाले यसलाई सफल पार्न सहयोगका लागि गाउँपालिकाबासीलाई पालिका अध्यक्ष मोतीराज राईले आग्रह गरेका छन् । 

 

‘दर्ता अभियानमा स्थानीयको पनि उत्साहपूर्वक सहभागिता रहेको छ’, राईले भने, ‘दैनिक रुपमा विवरण दर्ता गर्न गाउँपालिका केन्द्र तथा अन्य तोकिएका स्थानमा स्थानीयको भीड लागेको छ ।’ यो वर्ष देशभरका १ करोड नागरिकको वैयक्तिक तथा जैविक विवरण अभिलेख गर्ने लक्ष्य विभागको छ । वडा तहसम्मै टोली खटाएर विवरण दर्ता सकिएपछि परिचयपत्र वितरण सुरु हुनेछ ।

 

गाउँमै टोली आउँदा अभिलेख गराउन छुटे जिल्ला प्रशासन कार्यालय जानुपर्ने भएकाले स्थानीय जनप्रतिनिधिले आफ्ना नागरिकको अभिलेख कायम गराउन सहजीकरण र सहयोग गरिरहेका छन् । 


अभिलेखमा विस्तृत व्यक्तिगत विवरण, औंठाछाप, हस्ताक्षर, रेटिना तथा पूरा आकारको फोटोसमेत स्क्यानिङ गरेर लिइन्छ । पाँच वर्ष पहिले प्रदेश १ को पाँचथरबाट सुरु भएको अभियान एक वर्षभित्र सम्पन्न गरिने विभागले जनाएको छ ।