रुपन्देही– तिलोत्तमा नगरपालिका १२ वटा सामुदायिक विद्यालयमा स्टाफ नर्स राखिने भएको छ । संघीय शिक्षा तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका १२ वटा विद्यालयमा स्टाफ नर्स नियुक्त गरिएको तिलोत्तमा नगरपालिकाका प्रशासकीय प्रमुख माधवप्रसाद शर्माले वताए ।
विद्यालयमा प्राथमिक उपचार तथा स्वास्थ्य सुरक्षाका लागि छनोट भएका प्रत्येक विद्यालयमा स्टाफ नर्स नियुक्त गरिएको हो । नगरका कुल ४३ विद्यालय मध्ये बाँकी सामुदायिक विद्यालयहरुमा समेत शैक्षिक मापदण्ड पूरा गर्ने योजनामा नगरपालिका छ ।
तिलोत्तमामा ३९ वटा निजी विद्यालय छन् । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत सुरु भएकोे नर्सिङ स्वास्थ्य सेवाका लागि नगरपालिकाले तालिम सुरु गरेको नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए ।
विद्यालयमा नर्सको व्यवस्था हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा थप टेवा पुग्ने तिलोत्तमा स्थित शंकनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डी पाण्डेले बताए । नगरपालिका प्रमुख बासुदेब घिमिरेले नर्स राखिने भएपछि बालबालिकाको स्वास्थ्यमा सकारात्मक सन्देश प्रवाह भएको बताए ।