close

फेरि बन्द भयाे भीमाद नगरपालिका

फेरि बन्द भयाे भीमाद नगरपालिका

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको भीमाद नगरपालिकाले तीन दिनका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । शुक्रबार रातीसम्म नगरपालिकाबाट प्रदान हुने स्वास्थ्य र सुरक्षाबाहेकका सबै सेवा बन्द भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज आचार्यले बताए । 


नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकाले कन्ट्याक ट्रेसिङ गरी संक्रमणको अवस्था पहिचान गर्न नगरपालिका बन्द गरिएको उनले जानकारी दिए । नगरपालिकामा कार्यरत एक जना नगर प्रहरीलाई कोरोना पुष्टि भएको छ । 


संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका कर्मचारी, व्यवसायी र नगरवासीको पीसीआर परिक्षण गर्न भीमादका सबै क्षेत्र र सेवा बन्द गरिएको नगरपालिकाले विज्ञप्ति निकालेर बताएको हो । भीडभाड हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रम र अनावश्यक घुमफिर नगर्न नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।


कन्ट्याक ट्रेसिङमा परेका, विदेश र जोखिमयुक्त स्थानबाट आई होम आइसोलेसनमा बसेपछि स्वाब दिएका व्यक्तिलाई पीसीआर रिपोर्ट नआउँदासम्म समुदायमा घुलमिल नहुन सचेत गराइएको छ । 


यस अगाडि समुदायमा कोरोना संक्रमण देखिएपछि भीमाद १७ असोजदेखि ११ दिनसम्म बन्द गरिएको थियो । स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार भीमादमा हालसम्म ८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ जनाको मृत्यु भएको छ भने ५३ संक्रमित कोरोनामुक्त भएका छन् ।


भीमादसँगै जोडिएको जिल्लाकै शुक्लागण्डकी नगरपालिका पनि १९ देखि २५ कात्तिकसम्मका लागि बन्द छ । नगरमा राजमार्गसँग जोडिएका बजार क्षेत्रमा लकडाउन छ ।  कोरोना संक्रमणले सताएपछि जिल्लाका अन्य स्थानीय तह पनि बन्द हुँदै, खुल्दै आएका छन् ।